अन्तरजातीय दम्पती गाउँ निकाल्नेलाई कारबाही माग

Antarjatiya-Biheनुवाकोट, २६ वैशाख । अन्तरजातीय विवाह गर्ने जोडीमाथि माइतीपक्षबाट भएको दुव्र्यवहार गैरकानुनी रहेको र यसबाट मानवअधिकार उल्लंघन भएको राष्ट्रिय दलित आयोगले ठहर गरेको छ । आयोगद्वारा सार्वजनिक प्रतिवेदनमा यस्तो ठहर गर्दै दोषीमाथि कारबाही माग गरिएको छ ।
आयोगले सदरमुकाम विदुरमा पत्रकार सम्मेलन गरी प्रतिवेदन सार्वजनिक गरेको हो । नुवाकोटको खानीगाउँ–५ की संगीता राई र रालुका–७ का राजु विकबीच डेढ महिनाअघि भएको विवाहको विषयलाई लिएर माइतीपक्षले गरेको दुव्र्यहारसम्बन्धी समाचार सौर्यमा प्रकाशित भएपछि आयोगलगायत अधिकारवादी संघसंस्थाको ध्यानाकर्षण भएको थियो ।
घटनामा संलग्न १४ व्यक्तिको पहिचान गरी उनीहरूविरुद्ध जातीय छुवाछुत कसुर सजाय ऐन २०६८ अनुसार कारबाहीका लागि किटानी जाहेरी दिने तयारीसमेत आयोगले गरेको छ । खानीगाउँ–५ लब्धुकी १८ वर्षीया संगीता र रालुकादेवी–७ का १९ वर्षीय विकलाई गाउँलेले कुटपिट गरी गाउँ निकाला गरेका थिए । विवाहपछि आमाको आग्रहमा पतिसहित संगीता माइती गाउँ पुगेपछि सयौँको संख्यामा भेला भएका गाउँलेले उनीहरूलाई लखेटेर स्थानीय तादी नदी कटाएका थिए । घटनासम्बन्धी समाचार प्रकाशित भएपछि आयोग टोलीले चार दिन लगाएर घटनाको स्थलगत अध्ययन गरेको थियो । अध्ययनपछि तयार पारिएको प्रतिवेदनमा घटना जातीय छुवाछुत ऐन २०६३ विपरीत भएको उल्लेख गर्दै यसलाई ‘वर्तमान अवस्थामा घटेको सबैभन्दा गम्भीर र क्रूर घटना’को संज्ञा दिइएको छ ।
‘सदरमुकामसँग जोडिएको गाउँमा यस्तो अमानवीय एवं कानुनविपरीत कार्य हुँदासमेत प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत जिल्लाका प्रशासक र सरोकारवाला दलित संघसंस्था एवं राजनीतिक दल बेखबर हुनुका साथै घटनाप्रति उदासीनता देखाउनु सिंगो दलित समुदायप्रति गरिएको गम्भीर अपमान हो,’ प्रतिवेदनमा भनिएको छ, ‘कसुर सजाय ऐन ०६८ बमोजिम कारबाही गर्ने कुरामा राज्य मौन रहनु उच्चजातीय अहंकारको परिणाम हो ।’
राई र विकको अन्तरजातीय जोडीलाई माइतीपक्ष र गाउँलेले ‘स्विकार्न नसक्ने’ भन्दै गाउँ निकाला गरेका थिए । माइतीका छिमेकी मोहन राई, उषा राई, दिनेश राई, प्रेमबहादुर राईलगायतले ‘अजातसँग बिहे गरिस्, अब तेरो पानी चल्दैन’ भन्दै कुटपिट र लछारपछार गर्दै दुवैलाई तादी नदी कटाएका थिए । सयौँ गाउँले जम्मा भएर जुत्ताचप्पल हातमा लिई टिन बजाउँदै होहल्ला गरेर उनीहरूलाई तादी नदी पारी खेदेका थिए । उनीहरूमाथि ढुंगामुढासमेत बर्साएका र खोला तरेर गाउँ फर्किन नसकून् भनेर गाउँलेले खोलामा पालैपालो पहरा दिएका थिए । ‘गाउँमा अलच्छिन लाग्यो, गाउँ छोडिहाल’ भन्दै चिच्याउँदै गाउँका युवा, वृद्धवृद्धा, बालबालिकादेखि केही शिक्षितसमेत उल्टिएर करिब आधा घन्टासम्म जोडीलाई लखेटेर गाउँबाट धपाएका थिए ।

प्रतिक्रिया