कांग्रेसले चुनावमा कसैसँग तालमेल गर्दैन : देउवा

हेटौंडा, २६ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुरले आफ्नो पार्टीले चुनावमा कुनै दलसँग सहकार्य नगर्ने बताएका छन् । एमाले र कांग्रेसबीच आगामी चुनावमा तालमेल हुने चर्चा चलिरहेको बेला देउवाले यस्तो बताएका हुन् । उनले आगामी निर्वाचनमा कांग्रेसले कुनै पनि दलसँग सहकार्य नगर्ने दाबी गरेका छन् ।
प्रेस युनियन मकवानपुरले बुधबार गरेको पत्रकार सम्मेलनमा नेता देउवाले प्रतिस्पर्धी दलसँग चुनावी तालमेल गर्ने परिपाटी संसारमा कहीँ पनि नभएको बताउँदै एमालेसँग सहकार्य हुन नसक्ने संकेत गरे । ‘मुख्य प्रतिस्पर्धी दलसँग चुनावी तालमेल कहीँ हँुदैन,’ उनले भने, ‘कांग्रेस एक्लै चुनाव लड्छ ।’
चुनाव हुनुभन्दा ९० दिनअघि मिति घोषणा हुनुपर्ने उनले बताए । ‘कसैले भनेकै भरमा हतारमा चुनावको मिति घोषणा हुँदैन,’ देउवाले भने, ‘चुनाव हुनुभन्दा तीन महिनाअगाडि मात्र मिति तोकिन्छ ।’ विघटित संविधानसभामा एमाओवादीले बहुमत ल्याउँदा संविधान नबनेको भन्दै आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने दाबी देउवाले गरे । उनले निर्वाचनमा असन्तुष्ट दललाई पनि सामेल गराउनुपर्ने धारणा व्यक्त गरे ।
‘हामी वार्ता र संवादको माध्यमबाट वैद्यलाई पनि चुनावमा ल्याउन प्रयासरत छौँ,’ उनले भने । चुनावका लागि वातावरण तयार पार्ने समय आएको जिकिर उनले गरे । प्रजातन्त्रको स्थायित्वका निम्ति चुनाव जरुरी रहेको भन्दै उनले चुनावमा कांग्रेसको विकल्प नरहेको प्रस्ट्याए । संविधान निर्माणकै लागि भए पनि कांग्रेसले बहुमत प्राप्त गर्नुपर्ने उनले बताए । देशलाई संविधानविहीन अवस्थामा लामो समय राख्न नहुने भन्दै उनले आगामी संविधानसभाबाटै संविधान घोषणा गर्नुपर्ने बताए ।
अर्को प्रसंगमा नेता देउवाले चार दलकै सहमतिअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीलाई सिफारिस गरिएको बताउँदै यसमा चारै दल दोषी रहेको उल्लेख गरे । अदालतले कार्कीलाई नियुक्तिका लागि बाटो खोलिदिएकाले राष्ट्रपतिले संवैधानिक परिषद्को निर्णयलाई रोक्न नसक्ने उनको भनाइ थियो ।

प्रतिक्रिया