१४ अर्बको खाद्य वस्तु आयात

काठमाडौं, २५ वैशाख । कृषि प्रधान देश भनिए तापनि पछिल्लो समय नेपालले खाद्य वस्तु आयात गर्नु परिरहेको छ । कुनै समय विश्वका प्रमुख चामल निर्यात गर्ने देशमा पर्ने नेपाल अहिले भने चामल आयात गर्ने राष्ट्रमा पुगिसकेको छ । चालु आर्थिक वर्षको चैत महिनासम्म झन्डै १४ अर्ब ३६ करोड रुपियाँ बराबरको खाद्यान्न आयात भएको छ । यो अघिल्लो वर्षको पूरै १२ महिनामा भएको आयातभन्दा झन्डै एक अर्बले बढी हो । अघिल्लो वर्षभरिमा विभिन्न देशबाट १३ अर्ब ४१ करोड ३३ लाख ६३ हजार रुपियाँ बराबरको खाद्यान्न आयात भएको थियो ।
अघिल्लो वर्षको चैत महिनासम्म आठ अर्ब २१ करोड ७५ लाख रुपियाँ बराबरको खाद्यान्न आयात भएको थियो । नेपालीहरूको खाद्यान्नप्रतिको रुचीमा विविधिकरण हुन थालेपछि खाद्यान्नहरूको आयात बढ्दै गएको नेपाल आयात तथा निकासी प्रबद्र्धन केन्द्रका सिनियर अफिसर कृष्णराज बजगाईंले बताए । केन्द्रका अनुसार चालु आवको चैत महिनासम्म नेपालको व्यापार घाटा तीन खर्ब ८५ अर्ब २८ करोड रुपियाँ पुगेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ७८ अर्ब ६६ करोड ८९ लाख ५१ हजार रुपियाँ बढी हो । यही अनुपातमा व्यापार घाटा बढ्दै गएमा यस वर्ष नेपालको वैदेशिक व्यापार घाटा पाँच खर्ब रुपियाँ नाघ्ने निश्चित देखिएको छ । चैत महिनासम्म मुलुकको कुल वैदेशिक व्यापार चार खर्ब ९८ अर्ब ३५ करोड रुपियाँ पुगेको केन्द्रको तथ्यांक छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९ दशमलव एक प्रतिशतले बढी हो । कुल व्यापारमध्ये निर्यातको अंश ११ दशमलव तीन प्रतिशत रहेको छ भने आयातको अंश ८८ दशमलव सात प्रतिशत रहेको छ ।
चैत महिनासम्म पेट्रोलियम पदार्थको आयात १६ दशमलव पाँच प्रतिशतले बढेर ८० अर्ब ५९ करोड २५ लाख १५ हजार रुपियाँ पुगेको छ । त्यस्तै, यस अवधिमा ४३ अर्ब ४२ करोड ५९ लाख २९ हजार रुपियाँ बराबरको फलाम तथा स्टिलजन्य वस्तुहरू आयात भएको छ । मुलुकभित्र सुन, मेसिनरी पाट्र्स, इलेक्ट्रोनिक्स समान, सवारी साधन तथा पाट्र्स, खाद्यान्न, औषधि, मलखादलगायतका वस्तुहरूको उच्च आयात भएको छ । नेपालका निर्यातयोग्य वस्तुहरू भनेर पहिचान गरिएका वस्तुहरूको निर्यात क्रमश: घट्दै गएको छ । चैत महिनासम्मको निर्यात तथ्यांक हेर्दा गलैँचाको निर्यात १५ दशमलव ६ प्रतिशतले घटेर तीन अर्ब ९४ करोड रुपियाँमा सीमित हुन पुगेको छ । त्यस्तै, तयारी पोसाकको निर्यात पनि १८ दशमलव ७ प्रतिशतले घटेको छ । चैत महिनासम्म २ अर्ब ७३ करोड ३७ लाख रुपियाँ बराबरको तयारी पोसाक निर्यात भएको छ ।
निर्यातयोग्य वस्तुका रूपमा पहिचान गरिएका मह, सिल्भर ज्वेलरीको निर्यात पनि क्रमश: ९७ दशमलव ३७ र ३३ दशमलव नौ प्रतिशतले घटेको छ । नेपालबाट खासगरी मुसुरो दाल, फलाम तथा स्टिल्स, तयारी पोसाक, उनी गलैँचा, पोलिस्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टिल, हस्तकलाका समान, चाँदीका गरगहना, चाउचाउ, टुथपेस्ट, अलैँची, चिया, अदुवा, सुपारी, हातेकागज, छाला, पस्मिना सल, जडीबुटी लगायतका वस्तुहरू बढी निर्यात हुने बस्तुहरूमा पर्छन् ।

प्रतिक्रिया