२२ प्रकारका औषधिको खुलेआम दुरुपयोग

काठमाडौं, २५ वैशाख । मानसिक रोग, नशासम्बन्धी रोग र शल्यक्रिया गर्दा बिरामी बेहोस् पार्ने २२ प्रकारका लागु तथा मनोद्धिप औषधिको दुरुपयोग भइरहेको पाइएको छ । चिकित्सकको प्रेस्काइबका आधारमा मात्र बिक्री गर्नुपर्ने र बिक्रीपछि अनिवार्य रेकर्ड राख्नुपर्ने यस्ता औषधि व्यापारीले विनाप्रेस्काइब र रेकर्डै नराखी नियमविपरीत बिक्री गरिरहेको पाइएको औषधि व्यवस्था विभागले जनाएको छ ।
विभागले चालु आर्थिक वर्षको दोस्रो चौमासिकमा गरेको १० जिल्लाको निरीक्षणका क्रममा अस्पतालका फार्मेसी र आसपासका औषधि पसलेले नियमविपरीत लागु तथा मनोद्धिप औषधि बिक्री गरिरहेको पाएको हो । नियमविपरीत बिक्री भइरहेका यस्ता औषधि बिरामीले भन्दा पनि लागुपदार्थ दुव्र्यसनीले प्रयोग गरेको पाइएको छ ।
विभागले नियमविपरीत औषधि बिक्री गर्ने त्यस्ता औषधि पसललाई कारबाही गर्ने तयारी गरेको छ । विभागका फार्मेसी निरीक्षक श्याम अधिकारीका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्लाका धेरैजसो औषधि पसलेले नियमविपरीत औषधि बिक्री गरेको पाइएको थियो । विभागले नियमविपरीत जाने त्यस्ता औषधि पसलको सम्पूर्ण विवरण तथा यसअघिका कामको अवस्थाको अध्ययन गरी कसलाई के कारबाही गर्ने भन्ने तयारी गरिरहेको निरीक्षक अधिकारीले बताए ।
‘विभागले यस्ता औषधि चिकित्सकको प्रेस्काइबपछि रेकर्ड राखेर मात्र बेच्नुपर्ने भनी पटक–पटक सूचना जारी गरे पनि धेरैजसो औषधि पसलले रेकर्ड नराखी बिक्री गरेको पाइयो,’ उनले भने, ‘त्यसकारण अब औषधि ऐनअनुसार कसले कतिसम्म गल्ती गरेको छ भनी अध्ययन गरी कारबाही गर्ने भएका छौँ ।’ उनका अनुसार यस्ता धेरै औषधि बिरामीले भन्दा पनि लागुपदार्थ दुव्र्यसनीले प्रयोग गर्ने गरेको पाइएको छ ।
बिरामीका लागि दिइनुपर्ने यस्ता औषधि चिकित्सकको सिफारिसविना बिक्री गर्न नपाइने भए पनि व्यापारीले महँगो मूल्यमा दुव्र्यसनीलाई नियमविपरीत बिक्री गर्दै आइरहेको जानकारी आएको विभागले जनाएको छ । नियमअनुसार व्यवसायीले त्यस्ता औषधि बिक्री गर्दा चिकित्सकको सिफारिस, बिरामीको रोग र कसले कसलाई कुन प्रयोजनका लागि बेचिएको भन्ने रेकर्ड अनिवार्य राख्नुपर्दछ । विभागले त्यस्ता औषधि बेच्ने/नबेच्ने दुवैको प्रमाणपत्रमा छाप लगाउने काम गर्दछ । बेच्नेलाई बेच्ने र नबेच्नेलाई नबेच्ने भन्ने छाप लगाउने गर्दछ । विभागबाट यस्ता औषधि बिक्रीका लागि छुट्टै प्रमाणपत्र लिनुपर्छ । तर नियमअनुसार अधिकांश पसल नचलेको स्वयं विभागले स्वीकार गरेको छ ।
यस्ता औषधिको नियमविपरीत बिक्रीका कारण दुव्र्यसनीले लागुपदार्थको विकल्पका रूपमा प्रयोग गर्ने गरेको जानकारी प्रहरीबाट समेत आएपछि विभागले रेकर्ड नराख्ने पसलेलाई कडा कारबाहीको तयारी गरिरहेको हो । यसअघि विभागले यस्ता समस्या फेला पार्ने गरे पनि औषधि पसलेलाई स्पष्टिकरण लिएर मात्र छाड्ने गरेको थियो । विभागले पसलेलाई यसअघि कारबाही गर्न नसके पनि प्रहरीले भने केही व्यापारीलाई कारबाही गरेको थियो ।

प्रतिक्रिया