रिट दरपिठविरुद्धको निवेदन दर्ता

Suprim Cort Of Nepalकाठमाडौं, २५ वैशाख । पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख बनाउने संवैधानिक परिषद्को निर्णय खारेजीको माग गर्दै दायर गर्न खोजिएको रिट अस्वीकार गर्ने सर्वोच्च प्रशासनको निर्णयविरुद्ध निवेदन दर्ता भएको छ ।
अधिवक्ता ओमप्रकाश अर्यालले संवैधानिक परिषद्को निर्णय बदरको माग गर्दै सोमबार सर्वाेच्च अदालतमा रिट निवेदन दिएका थिए । सर्वोच्च प्रशासनले रिटमा विपक्षी बनाइएका व्यक्ति लोकमानसिंह कार्की, संवैधानिक परिषद्, अख्तियारलाई जानकारी गराएर मात्र रिट दर्ता गर्न सकिने भन्दै अर्यालको रिट दरपिठ गरेको थियो । सर्वोच्च प्रशासनले प्रक्रिया नमिलेको भन्दै रिट अस्वीकार गरेपछि अर्यालले दरपिठविरुद्ध मंगलबार निवेदन दर्ता गराएका हुन् । ५ पुसमा सर्वोच्चको विशेष इजलासले सार्वजनिक सरोकारको विषयमा रिट निवेदन दर्ता गर्दा विपक्षीलाई त्यसबारे जानकारी गराउनुपर्ने नजिर स्थापित गरिदिएको छ ।
सर्वाेच्च प्रशासनविरुद्ध दर्ता भएको निवेदन अब इजलासमा छलफल हुनेछ । रिट अस्वीकार भए त्यसविरुद्ध निवेदनमा जान सक्ने कानुन प्रावधान भएका कारण अर्याल निवेदनमार्फत इजलासमा जाने भएका छन् । ५ पुसमा स्थापित नजिर यसअघिका रिटमा क्रियाशील नहुने र कार्कीविरुद्धको रिटमा किन क्रियाशील भएको भन्ने तर्क गर्दै उनले निवेदन दर्ता गराएका छन् । उक्त निवेदनमाथी बुधबार छलफल हुने भएको छ ।
सर्वोच्च प्रशासनले कार्कीविरुद्धको रिट अस्वीकार गरेपछि केही कानुन व्यवसायीले मंगलबार कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मालाई भेटी प्रशासनको निर्णय पूर्वाग्रही भएको गुनासो गरेका थिए ।

प्रतिक्रिया