रेसुंगा क्षेत्रमा फेरि आगो

गुल्मी, २५ वैशाख । गुल्मीको धार्मिक क्षेत्र रेसुंगासँगै जोडिएको पराल्मी गाविसमा रहेको सामुदायिक वनमा लागेको आगोले ५० हेक्टर क्षेत्रफल नष्ट गरेको छ । पराल्मी गाविसमा रहेको फूलवारी सामुदायिक बनमा सोमबारबाट लागेको आगो मंगलबार नेपाल प्रहरी, नेपाली सेना, स्थानीय वासिन्दा र वन कर्मचारीको सहयोगमा नियन्त्रणमा आएको छ । क्षतिको एकिन विवरण भने आउन नसकेको जिल्ला वन अधिकृत राजेन्द्र न्यौपानेले जानकारी दिए ।
गाविसका एकदेखि पाँच वडासम्म फैलिएको सामुदायिक वनमा लागेको आगो समयमै नियन्त्रणमा लिएकोले अहिले रेसुंगा क्षेत्र संकट मुक्त रहेको समाजसेवी भरतबहादुर चन्दले बताए । केही समयअगाडि पनि गुल्मीको रेसुंगा क्षेत्रमा भीषण आगलागी भएको थियो । उक्त आगलागी करिब पाँच दिनको प्रयासपछि नियन्त्रणमा आएको थियो । आगलागीको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया