सडक माग्दा बाजुरावासीलाई कफ्र्यु

बाजुरा, २५ वैशाख । जिल्ला सदरमुकाम मार्तडीमा मंगलबार कफ्र्यू् लगाइएको छ । सडक निर्माणको विषयलाई लिएर आन्दोलनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच झडप भएपछि प्रशासन कार्यालयले कफ्र्यू् लगाएको हो । मंगलबार ३ बजेदेखि सुरु भएको कफ्र्यू् बुधबार विहान ५ बजेसम्म लगाइनेछ । मार्तडी बजारमा कफ्र्यू् लगाइएपछि जनजीवन प्रभावित बनेको छ । बजारक्षेत्रमा उल्लेख्य संख्यामा प्रहरी परिचालन गरिएको छ ।
बुढीगंगा नदीमा निर्माण गरिने बेलिब्रिज निर्माण प्रक्रिया एकाएक रोकिएको भन्दै विरोधमा चरणवद्ध आन्दोलन गर्दै आएका आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो । झडपमा २० भन्दा बढी आन्दोलनकारी घाइते भएका छन् । आन्दोलनको तेस्रो दिन मंगलबार जिल्ला प्रशासन कार्यालय बाजुरा घेराउ गर्न लागेका आन्दोलनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि झडप भएको थियो । अश्रुग्यासको छर्रा, लाठी र ढुंगा लागेर तीन महिने नाबालिका र विद्यार्थीसहित २० भन्दा बढी घाइते भएका छन् । गोपाल रावल, गोपाल खड्का, डबल बोगटी, सरिता पाध्या, किरण नेपाली, तिलक शाह, गोरख धामी, जेनिशा न्यौपाने जानकी न्यौपानेलगायत २० भन्दाबढी घाइते भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । घाइते १० जनामध्ये तीन महिने बालिका जेनिशा न्यौपानेसहित दुई जनाको अवस्था गम्भीर रहेको जनस्वास्थ्य अधिकृत ज्ञानेन्द्र दवाडीले जानकारी दिए । घाइते सबैको उपचार जिल्ला अस्पताल बाजुरामा भइरहेको छ ।
प्रहरीले अश्रुग्यास प्रहार गरेपछि जिल्ला प्रशासन कार्यालय नजिकै रहेका बाल मन्दिर प्रावि र बडिमालिका बोर्डिङ स्कुलमा अध्ययन गरिरहेका बालबालिका ग्यासको गन्धले केही समय बेहोस भएका थिए । साँफे–मार्तडी सडक निर्माण गर्न माग गर्दै तीनदिनदेखि आन्दोलनमा रहेका बाजुरावासी जिल्ला प्रशासन कार्यालय पुगेपछि अश्रुग्यास प्रहार भएको प्रत्यक्षदर्शीको भनाइ छ ।
बुढीगंगा नदीमा निर्माण गर्ने भनिएको बेलीब्रिज एकाएक रोकिएको विरोधमा जिल्ला बन्दसहित तीन दिनदेखि आन्दोलन गर्दै आएका छन् । सडक निर्माणका लागि अन्तिम र निर्णायक आन्दोलनमा रहेका बाजुरावासीले गरेको बन्दका कारण मंगलबार बिहानैदेखि बजार तथा सवारी साधन बन्द भएका थिए भने सरकारी तथा गैर सरकारी निकायको काम पनि प्रभावित बनेको थियो ।
प्रहरी हस्तक्षेपको विरोध
प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेको ठाडो निर्देशनमा बल प्रयोग गरिएको भन्दै राजनीतिक दल र नागरिक समाजले आपत्ति जनाएका छन् । प्रहरी प्रशासनले भने प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयमा बलपूर्वक ताला लगाउन खोजेपछि बल प्रयोग गर्नुपरेको जनाएको छ । समाचार संकलन गर्न खटिएका पत्रकार गगन अयडीलाई ढुंगा प्रहार गरिएको भन्दै नेपाल पत्रकार महासंघ, बाजुराले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सुनियोजित रूपमा पत्रकारमाथि आक्रमण गरी साथमा रहेको क्यामेरा फुटाइएको भन्दै महासंघले घटनासम्बन्धी छानबिन गरी क्षतिपूर्ति दिन माग गरेको छ ।
आन्दोलनमा पार्टीको समर्थन
एकीकृत नेकपा माओवादीका जिल्ला संयोजक कर्ण विकले जनतामाथि अनावश्यक रूपमा गरिएको बलप्रयोगविरुद्ध आफूहरू लाग्ने बताएका छन् । नेपाली कांग्रेसका पदम बडुवालले बाजुरावासीका लागि सडक अत्यावश्यक रहेकाले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताइका छन् । त्यसैगरी एमाले उपसचिव गगन रावलले जस्तोसुकै मूल्य चुकाएर भए पनि आन्दोलनलाई निर्णायक बनाउन आफूहरू प्रतिबद्ध रहेको उल्लेख गरे । नेकपा माओवादीका सचिव भूपेन्द्र विकले सडक निर्माणको मागसहित भएको आन्दोलनलाई सफल बनाइछाड्ने बताए ।

प्रतिक्रिया