फस्टलुक सार्वजनिकमा निर्देशक आचार्यको अनुनय–विनय

ketasकाठमाडौं : चलचित्र ‘लभ फर एभर’को फस्टलुक सार्वजनिक भएको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा निर्देशक समाजका अध्यक्ष दिनेश डिसी, चलचित्र निर्माता संघको नवनिर्वाचित अध्यक्ष राजकुमार राई, चलचित्र संघका महासचिव प्रदीपकुमार उदय र चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरीले संयुक्त रूपमा चलचित्रको पोस्टर फस्टलुकका लागि सार्वजनिक गरे ।
कार्यक्रममा निर्माता संघका अध्यक्ष राईले चलचित्र र सञ्चार क्षेत्रको दूरी बढ्दै गएकाले एक भएर जाने वातावरण आफूले बनाउने तयारीमा लागेको बताए । चलचित्र संघका महासचिव प्रदीपकुमार उदयले हालै रिलिज उनको चलचित्र मञ्जरीको रिभ्युलाई लक्षित गर्दै पत्रकारले गलत नियतले चलचित्र हेरेका कारण चलचित्र नराम्रो देखेको आरोप लगाए । उनले भने, ‘राम्रो नियतले चलचित्र हेरिदिएको भए चलचित्र राम्रो लाग्थ्यो ।’ आफूले चलचित्र नराम्रो बनाएकोप्रति भने उनले ध्यान पुर्‍याएनन् ।
निर्देशक समाजका अध्यक्ष डिसी, चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरीलगायतले शंकर आचार्य पुराना तथा खारिएका कलाकार भएकाले उनले निर्माण गरेको चलचित्र पनि राम्रो हुनुपर्ने अनुमान लगाए ।
आचार्यले रंगमञ्चको लामो अभिनयपछि सानो पर्दा मार यसमा पनि अभिनय र निर्देशनमा अब्बल सावित भएपछि ठूलो पर्दामा पाइला बढाएका हुन् । ‘लभ फर एभर’ मा उनको निर्माण, निर्देशनका साथै अभिनयसमेत छ । चेतन सापकोटाको संगीत, गम्भीर विष्टको नृत्य निर्देशन, सूर्य थोकरको द्वन्द्व रहेको चलचित्रको सम्पादन नवीन निरौलाले गरेका हुन् ।
म सानैबाट दु:ख पाएको व्यक्ति, अझै पनि सुख पाउन सकेको छैन । यसैले यसपटक दु:ख गरेर चलचित्र बनाएको छु, नराम्रो नलेखिदिनुहोला भन्दै चलचित्रका निर्मातासमेत रहेका निर्देशक शंकरले कार्यक्रममा पत्रकार तथा दर्शकलाई आमाबुबा नै तपाईंहरू हो भन्नसमेत पछि परेनन् । चलचित्रका प्रस्तुतकर्ता राज आचार्य छन् । कार्यक्रममा चलचित्रका दुई गीतसमेत देखाइएको थियो । यौन आशक्ति भएका र नभएका दुई पात्रसमेत समेटिएको चलचित्र आगामी असार १४ बाट प्रदर्शनमा आउने जानकारी निर्माण पक्षले गराएको छ । (सौस)

प्रतिक्रिया