खानेपानीको हाहाकार

महोत्तरी, २४ वैशाख । बढ्दो गर्मीसँगै महोत्तरीको हाथिलेटको वडा ५, ६ र ७ मा खानेपानीको खानेपानीको हाहाकार भएको छ । गर्मी बढेसँगै इनार सुक्न थालेपछि पानीको हाहाकार भएको हो । खानेपानीको विकल्पमा रहेका इनार धमाधम सुक्न थालेपछि खानेपानीको जोहो गर्न स्थानीय रातभर जागै बस्न बाध्य भएका छन् । स्थानीय फूलकुमारी पाख्रिन भन्छिन्, ‘रातिको खाना बनाएर खाने बेलासम्म ११ बजिहाल्छ । अनि घरधन्दा सक्दा १२ बज्छ, त्यसपछि २ बजे उठेर पानीको जोहो गर्नु परिहाल्यो ।’ उनका अनुसार महिला डोकोमा गाग्री राखेर र पुरुष भारमा बाल्टिन झुन्ड्याएर छिमेकी गाविस औरही, विजलपुरा, रामनगरको इटाटार गरी करिब ५ किलोमिटर टाढासम्म पानीका लागि धाउने गर्दछन् । जम्मा एक सय ६५ घरधुरी रहेको ५ नम्बर वडामा खजुरीयामा मात्र ६ वटा इनार छन् । जसमध्ये दुईवटामा पानी आउँदैन । प्रयोगमा आएका चारवटा इनारको पानी हिलाम्मे छ । बस्तीमा सार्वजनिक धारा नभएका  होइनन् । तर, करिब ६ वर्ष पहिले खोलामा आएको बाढीले पाइप बगाएपछि मर्मत हुन नसक्दा धारा प्रयोगविहीन छन् ।

प्रतिक्रिया