बुधबारदेखि अवरुद्ध फेरी अझै चलेन

Feriजाजरकोट, २४ वैशाख । भेरी नदीमा सञ्चालित फेरी अवरुद्ध भएको एक साता बित्न लाग्दा पनि सुचारु नभएपछि सवारीसाधान आवागमनमा समस्या भएको छ । छिन्चु–जाजरकोट सडक खण्डअन्र्तगत सल्यानको सल्लिबजार र सुर्खेतको रामबीचमा पर्ने भेरी नदीमा सञ्चालित फेरी गत बुधबारबाट अवरुद्ध भएको हो ।
जीर्ण फेरीको लठ्ठा चुडिएपछि सेवा प्रभावित भएको स्थानीय दीपक शाहीले बताए । फेरी अवरुद्ध भएपछि दर्जनबढी मालवाहक ट्रक, ट्रयाक्टर लगायतका सवारीसाधन नदी वारीपारी थन्किएका छन् । फेरी नचल्दा यात्रु करिब ४५ मिनेट पैदल हिड्न बाध्य छन् । जाजरकोटका लागि ल्याइएका दैनिक उपभोग्य वस्तु बोकेर ट्रक भेरी पारी नै थन्किपछि स्थानीय उपभोक्ता र व्यापारीलाई समस्या परेको छ । फेरी अवरुद्ध भएपछि जाजरकोटबाट अन्यत्र रिफर गरिएका बिरामीलाई सम्बन्धित अस्पताल लैजानसमेत समस्या भएको छ ।
वर्षाैँ पुरानो जिर्ण फेरी बेला–बेलामा अवरुद्ध हुन थालेपछि यस क्षेत्रका स्थानीय मर्कामा पर्ने गरेका छन् । आठ वर्षअघिबाट निर्माण थालिएको पुल अझै निर्माणाधीन अवस्थामा छ । ठेकेदार कम्पनीको लापरबाहीको कारण पुल बन्न ढिलाइ भएको हो । केही दिनअघि मात्र उक्त फेरी भेरीमा डुबेपछि एउटा ट्रक र जिप भेरीमा खसेका थिए । तर, उक्त घटनामा संयोगले कुनै मानवीय क्षति भने भएको थिएन । फेरी सुचारु गर्न आवश्यक पहल भइरहेको जिविस सुर्खेत स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया