हुँदै नभएको विद्यालयलाई वर्षौदेखि सुविधा

राजविराज, २४ वैशाख । कागजमा मात्र सीमित दुई विद्यालयले वर्षौदेखि जिल्ला शिक्षा कार्यालय सप्तरीमार्फत सेवासुविधा लिँदै आएको खुलासा भएको छ । जिल्ला शिक्षा कार्यालय सप्तरीले पछिल्लोपटक चलाएको ‘हेड काउन्ट अभियान’का क्रममा ती विद्यालय अस्तित्वमा नरहेको देखिएपछि रहस्य खुलेको हो । जिल्ला शिक्षा कार्यालय, सप्तरीले गत मंसिरमा चलाएको अभियानका क्रममा बथनाहा–३ मा रहेको भनिएको राष्ट्रिय प्राथमिक विद्यालय र देउरी भरुवा–४ मा रहेको भनिएको खाडो कृषक प्राथमिक विद्यालय फेला परेनन् । यद्यपि दुवै विद्यालयले सरकारद्वारा प्राप्त सेवासुविधा भने लिँदै आएको पाइएपछि मंसिरबाटै सम्पूर्ण सुविधा बन्द गरिएको कार्यालयले जनाएको छ । जिल्ला शिक्षा कार्यालयले ती विद्यालयबारे थपजानकारी उपलब्ध गराएको छैन । दुवै विद्यालयले अनुमति पाएको मिति, सेवासुविधा उपलब्ध गराइएको अन्तिम मिति र विद्यालयका प्रधानअध्यापकलगायतको दरबन्दी संख्याबारे हालसम्म जिल्ला शिक्षा कार्यालयले विवरण दिएको छैन । सम्बन्धित क्षेत्रका श्रोतकेन्द्रमार्फत विद्यालय नभएको जानकारी आएपछि सम्पूर्ण सेवासुविधा रोकी अनुसन्धानअघि बढाइएको जिल्ला शिक्षा अधिकारी रुद्रहरि भण्डारीले बताए । विद्यालय बन्द गर्ने कार्यालयको निर्णय भए यता कसैले पनि ती विद्यालय अस्तित्वमा रहेको दाबी नगरेको जिशिअ भण्डारीले जानकारी दिए । दुवै विद्यालयबारे एक/दुई दिनभित्रै कार्यालयले थप जानकारी उपलब्ध गराउने उनले बताए ।

प्रतिक्रिया