अध्यक्षको सहमति कार्यान्वयन नगर्न एमालेले राष्ट्रपति गुहार्‍यो

umlकाठमाडौं, २४ वैशाख । एमालेले आफ्नै पार्टी अध्यक्ष झलनाथ खनालले गरेको निर्णय कार्यान्वयन नगर्न राष्ट्रपति डा. रामवरण यादवलाई गुहारेको छ । पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख नबनाउन एमाले नेताहरूले सोमबार राष्ट्रपति डा. रामवरण यादवलाई लिखित आग्रह गरेका हुन् ।
उच्चस्तरीय राजनीतिक समितिको सदस्यका हैसियतमा अध्यक्ष झलनाथ खनालसहित प्रमुख दलका शीर्ष नेताहरूले कार्कीलाई अख्तियार प्रमुख बनाउन सरकारसमक्ष सिफारिस गरेका थिए । तर, अध्यक्ष खनालको निर्णयविरुद्ध उनकै पार्टी उभिएको छ । आइतबार बसेको पोलिटब्युरो बैठकले कार्कीलाई अख्तियार प्रमुख नबनाउन राष्ट्रपति यादवलाई आग्रह गर्ने निर्णय गरेको थियो ।
संवैधानिक परिषद्ले कार्कीलाई अख्तियार प्रमुख नियुक्त गर्न सिफारिस गरिसकेपछि एमालेले राष्ट्रपतिलाई गुहारेको हो । पोलिटब्युरोको निर्णयअनुसार सोमबार महासचिव ईश्वर पोखरेलको नेतृत्वमा गएको एमाले नेताहरूको टोलीले राष्ट्रपति यादवलाई लिखित पत्र बुझाउँदै विवादास्पद छविका कार्कीलाई अख्तियार प्रमुख नियुक्त नगर्न माग गरेको हो । अख्तियार प्रमुखजस्तो महत्त्वपूर्ण र संवेदनशील ठाउँमा कार्कीलाई नियुक्त गर्नु उपयुक्त नहुने उनीहरूले राष्ट्रपतिलाई सुनाएका थिए ।
‘अख्तियारजस्तो महत्त्वपूर्ण र संवेदनशील संस्थामा विवादास्पद छवि भएको व्यक्तिको नियुक्ति उपयुक्त हुँदैन भन्ने निष्कर्ष निकालेको र बैठकबाट निजलाई अख्तियार प्रमुख बनाउने उक्त प्रस्तावउपर पुनर्विचार गर्न माग गर्ने निर्णय गरेको व्यहोरा सम्माननीय राष्ट्रपतिज्यूसमक्ष निवेदन गर्दछौँ,’ एमालेले राष्ट्रपति यादवलाई बुझाएको लिखित मागमा भनिएको छ ।
उच्चस्तरीय राजनीतिक समितिमा प्रतिनिधित्व गर्ने एमालेका शीर्ष नेताहरू कार्कीको नाम सिफारिसप्रति सकारात्मक देखिए पनि एमालेका दोस्रो तहका नेताहरू त्यसविरुद्ध उभिँदै आएका छन् । पार्टीको मूल नेतृत्व कार्कीको नाम सिफरिसप्रति सकारात्मक भए पनि उनीहरूका भातृसंगठनहरूले सोमबार सिफरिसप्रति विरोध जनाउँदै राष्ट्रपति भवन घेराउ गरेका थिए ।

प्रतिक्रिया