नेपाल च्याम्पियन

Nepali-Team-Cricketकाठमाडौं, २४ वैशाख । अघिल्लो दिन डिभिजन ‘टु’ मा उक्लिएको नेपाली क्रिकेट टोलीले दोस्रो दिन आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीको फाइनल जितेर अर्को ऐतिहासिक सफलता हात पारेको छ । क्यारेबियन मुलुक बर्मुडामा आइतबार सम्पन्न थ्रीको फाइनल खेलमा युगान्डालाई ५ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो ।
क्रिकेटमा नेपालले हासिल गरेको यो अहिलेसम्मकै ठूलो सफलता हो । यसअघि नेपालले आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन फोरको उपाधिका साथै एसिसी एलिट ट्रफी जितेको थियो । यसका साथै नेपाल एसिसी टी–ट्वान्टी कपमा उपविजेता भएर टी–ट्वान्टी क्रिकेट वल्र्डकपको क्वालिफाइङमा आफ्नो नाम सुरक्षित गरेको थियो ।
डिभिजन थ्री च्याम्पियन बन्नुका साथै नेपालले अब विश्वकप २०१५ को क्वालिफाइङ टुर्नामेन्ट खेल्न पाउनेछ । जसमा उसले युगान्डाका अतिरिक्त डिभिजन ‘टु’का फाइनलिस्ट युएई र हङकङ, डिभिजन वानका आयरल्यान्ड, नेदरल्यान्ड्स, स्कटल्यान्डल्यान्ड, अफगानिस्तान, केन्या र क्यानाडासमेत अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलमा एफिलिएट र एसोसिएट दस टिमविरुद्ध भिड्नुपर्ने हुन्छ ।
विश्वकप क्वालिफाइङ टुर्नामेन्टमा नेपालले प्रथम चार टोलीभित्र स्थान सुरक्षित गर्नसके उसले आगामी चार वर्षका लागि ‘नन टेस्ट प्लेइङ वान डे इन्टरनेसनल प्लेइङ नेसन’को स्टाटस पाउनेछ ।
आइतबार राति ह्यामिल्टनको रंगशालामा भएको फाइनलमा युगान्डालाई ५ विकेटले पराजित गर्दै नेपालले डिभिजन थ्रीको उपाधि हात पारेको हो । जितसँगै लिग चरणमा युगान्डाबाट बेहोरेको ६ विकेटको हारको बदला पनि नेपालले लिएको छ ।
युगान्डाले दिएको १ सय ५२ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ३९ ओभर २ बलमै भेट्यो । जित दिलाउन प्रदीप ऐरीले ६० र शरद भेषवाकरले अविजित ५० रन जोडेका थिए । ३० रनमा तीन विकेट गुमाएका बेला ऐरी र भेषवाकरले नेपाली पारी उकासेका थिए । यी दुवैले चौथो विकेटका लागि ७७ रनको साझेदारी गरेपछि नेपाल खेलमा सम्हालिएको थियो । ओपनर सुवास खकुरेल ४ रनमा आउट भए । त्यस्तै, ज्ञानेन्द्र मल्ल ५, कप्तान पारस खड्का १ र विनोद भण्डारीले ५ रनको योगदान गरे । पृथु बाँस्कोटा १९ रनमा अविजित रहे । प्रदीप म्यान अफ दि म्याच घोषित भए ।
यसअघि टस जितेर ब्याटिङ थालेको युगान्डाले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ५१ रन जोडेको थियो । ५ विकेटको क्षतिमा ६५ रनमा खेल्दै गरेको युगान्डाको इनिङ डेभिस एरिनइत्वे र डिउसडिट मुहुम्जाले उकासेका थिए । उनीहरूले छैटौँ विकेटका लागि ४६ रनको साझेदारी गरे । मुहुम्जा २८ र डेभिस २३ रनमा आउट भए । लरेन्स सेमातिम्बाले २७ रनको योगदान गरे । नेपालका लागि राहुल विश्वकर्मा र वसन्त रेग्मीले समान २ विकेट लिए । पारस खड्का, शक्ति गौचन र पृथु बाँस्कोटाले १–१ विकेट लिए ।
खेल अवधिभर बर्मुडामा रहेका नेपालीको सानो समूहले नेपाली टोलीलाई हौस्याएको थियो । जितपछि कप्तान पारसले विजय अविश्वसनीय लागेको प्रतिक्रिया दिए । ‘हामीले यसका लागि निकै मिहिनेत गर्‍यौँ । सुरुका केही खेल हारेपछि कसैले पनि हामीलाई पत्याएका थिएनन् तर हामीले आफू र आफ्नो क्षमतामा विश्वास राख्यौँ । सबै कुराले हाम्रो साथ दियो । हामी त्यो ठाउँंमा पुगेका छौँ, जहाँ हामी सधैँ पुग्न चाहन्थ्यौँ,’ उनले भने ।
विश्वकप छनोट खेल हुन आठ महिना मात्रै बाँकी रहेकाले अभ्यास निरन्तर हुनुपर्ने कप्तान खड्काले बताए । ‘विश्वकप छनोटभन्दा अघि नोभेम्बरमा दुबईमा विश्व ट्वान्टी–२० छनोट हुँदै छ, त्यो पनि उत्तिकै महत्त्वपूर्ण प्रतियोगिता हो,’ उनले भने । तयारीको हिसाबले अब ठूलो रणनीतिक योजना आवश्यक रहेको उनले बताए ।
युगान्डाका कप्तान डेभिस एरिनाइट्वेले विश्वकप छनोटमा चयन हुने आफूहरूको मुख्य लक्ष्य भएको बताए । नेपाली ब्याट्सम्यानले निकै राम्रो खेलेको भन्दै उनले प्रशंसा गरे ।

प्रतिक्रिया