कार्कीको सिफारिसबाट ‘पापड’ पनि असन्तुष्ट

Lokman-Shing-Karkiकाठमाडौं, २३ वैशाख । शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल ‘पापड’ले  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्तका लागि सिफारिस भएका पूर्व मुख्य सचिव लोकमान सिंह कार्कीको विरोध गरेको छ ।
‘पापड’द्वारा सोमवार विज्ञप्ति जारी गरेर संवैधानिक परिषदले गरेको कार्कीको सिफारिसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । सञ्जालले सो घटनाले लोकतन्त्रको उपहास गरेको जनाएको छ ।
‘जनआन्दोलन ०६२/६३ का किटानी दोषी भ्रष्टाचारमा मुछिएका शाहीकालीन पूर्व मुख्य सचिव लोकमान सिंह कार्कीलाई संवैधानिक परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा अन्तरिम संविधानको मर्म विपरित नियुक्तिका लागि सिफारिस गरेको घटनाप्रति संजालको गंभीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
अख्तियारले समेत अयोग्य ठहर्‍याएका कार्कीको नियुक्ति सिफारिसको निर्णयले ०६२/०६३ को जनताको बलिदानी आन्दोलनमाथि पूर्णत: खेलवाड भएको सञ्जालको भनाई छ ।
‘विवादास्पद चरित्रको व्यक्तिलाई संबैधानिक निकायको प्रमुखमा नियुक्तिका लागि परिषद्ले सिफारिस गर्नु कानूनी शासन, पारदर्शिता र सुशासनको गम्भीर उल्लंघन हो,’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्ति जारी गर्नेमा ईञ्जीनियर महेन्द्र बहादुर गुरुङ्ग, मोहन इङनाम, मुक्तिराम श्रेष्ठ, इश्वरी तिमिल्सीना, किशोर गौतम, पूर्णा जोशी रहेका छन् ।

प्रतिक्रिया