चुनावको मिति तोक्न युवा संगठनहरूको माग

काठमाडौं, २३ वैशाख । आठ राजनीतिक दलनिकट युवा संगठनहरूले संविधानसभा चुनावको मिति घोषणाको माग गरेका छन् । आइतबार बसेको उनीहरूको बैठकले देशलाई निकास दिन चुनावको विकल्प नभएको निष्कर्ष निकाल्दै तत्काल मिति घोषणा गर्न माग गरेका हुन् ।
वाइसिएल, युवा संघ नेपाल, तरुण दल, सद्भावना युवा मञ्च, तराई मधेस युथ फ्रन्ट, प्रगतिशील युवा संघ नेपाल, मधेसी युवा फोरम नेपाल, मधेसी युवा फोरम लोकतान्त्रिकको बसेको बैठकले चुनावको मिति घोषणाका लागि दबाबमूलक अभियान सुरु गर्ने निर्णय पनि गरेका छन् ।
उनीहरूले आफ्नै दलका शीर्ष नेताहरूलाई निर्वाचनको वातावरण मिलाउन र आन्दोलनरत दलहरूलाई निर्वाचनमा सहभागी गराउन पहल गर्न पनि माग गरेका छन् । वाइसिएलका अध्यक्ष गणेशमान पुनले संविधानसभा चुनावको मिति नतोकिँदा मुलुकमा अन्योल बढेकाले तत्काल मिति घोषणा गर्नुपर्ने बताए । तरुण दलका अध्यक्ष उदयशमशेर राणाले चुनावको वातावरण बनाउन युवाहरूले आफ्नो पार्टीका शीर्ष नेताहरूलाई दबाब दिने बताए ।
मधेसी युवा फोरम लोकतान्त्रिकका महासचिव वेदनारायण गच्छदारले विगतको संविधानसभामा जस्तो विकृति नआओस् भनेर युवाहरू खबरदारी गर्नुपर्ने बताए । उनले चुनावको विपक्षमा रहेका ३३ दललाई निर्वाचनमा ल्याउन आफ्नो पार्टीका शीर्ष नेताहरूलाई दबाब दिइने बताए ।
युवा संगठनहरूले निष्पक्ष, स्वच्छ र धाँधलीरहित निर्वाचनको वातावरण बनाउनुपर्ने, जनसंख्याको आधारमा संविधानसभामा युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, १६ वर्ष पुगेका सबै नेपालीलाई मतदानको अधिकार दिनुपर्ने र विदेशमा रहेका नेपालीलाई समेत मतदान गर्ने वातावरण मिलाउन माग गरेका छन् ।

प्रतिक्रिया