‘सरकार चुनाव चाहँदैन’

रोल्पा : एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य लिलामणि पोख्रेलले खिलराज रेग्मी नेतृत्वको सरकारले चुनाव गराउन नचाहेको बताएका छन् । संविधानसभा चुनावको तयारीका लागि कार्यकर्तालाई प्रशिक्षण दिन रोल्पा पुगेका पोख्रेलले क्रान्तिकारी पत्रकार संघ रोल्पाले सदरमुकाम लिवाङमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो धारणा राखेका हुन् । ‘सरकारको आयु लम्ब्याउनका लागि रेग्मी सरकारले संविधानसभाको मिति घोषणा गर्न ढिलाइ गरेको हो, यही सरकारका कारण असारमा चुनाव हुन सकेन र मंसिरमा पनि चुनाव हुने कुनै ग्यारेन्टी छैन,’ उनले भने, ‘सरकारले चाहेमा चुनावको मिति तत्काल घोषणा गर्न सक्छ ।’
चुनावदेखि कांग्रेस–एमाले डराएका कारण पनि चुनावको घोषणा हुन नसकेको उनले बताए । ‘एमालेका केही प्रभावशाली नेताहरू हाम्रो पार्टीलगायत अन्य पार्टीमा प्रवेश गरेका छन् । जसका कारण एमाले कमजोर भएको छ, यसर्थ पनि एमालेले चुनाव चाहँदैन ।’ पोख्रेलको दाबी थियो, ‘बाहिर–बाहिर उनीहरू चुनाव चाहेजस्तो गरे पनि आत्मैदेखि चुनावको विरोधमा छन् ।’ एमाओवादी मात्र चुनाव गराउने पक्षमा रहेको भन्दै मगरात,  पोख्रेलले कांग्रेसले पनि चुनाव नचाहेको बताए । एमाओवादी कमजोर भएको निश्कर्षमा नपुगेको र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसँग चुनावी तालमेल गर्न सक्ने भएकाले पनि कांग्रेस–एमाले चुनावमा जान नचाहेको आरोप पोख्रेलले लगाए ।

प्रतिक्रिया