आयोजकलाई नेकोस तेक्वान्दो उपाधि

taekwondoकाठमाडौं, २२ वैशाख । आयोजक नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय तेक्वान्दो संघले दोस्रो नेकोस राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । २ स्वर्ण जित्दै आयोजकले टिम च्याम्पियनको उपाधि उचाल्यो ।
त्यत्ति नै स्वर्ण जितेको पर्साले दोस्रो स्थानमा चित्त बुझायो । आयोजक र पर्साले दुई स्वर्णबाहेक अन्य पदक हात नपारेपछि टिम च्याम्पियनको छिनोफानो खेलाडी सहभागिता संख्याका आधारमा गरिएको थियो । प्रतियोगितामा आयोजकका ९ तथा पर्साका ८ खेलाडीले भाग लिएका थिए । एक खेलाडी बढी सहभागी भएको आधारमा आयोजक च्याम्पियन घोषित भएको आयोजकले जनाएको छ । तेस्रो भएको चितवनले १ स्वर्ण, १ रजत र २ कांस्य हात पार्‍यो । आयोजकको तर्फबाट स्वर्णपदक जित्ने दुवै खेलाडी कोटेश्वर तेक्वान्दो डोजाङका हुन् ।
पुरुषमा सुनसरीका सतीश काºले तथा महिलामा आयोजककी काजल श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित हुँदै ५ हजारका दरले नगद पुरस्कार प्राप्त गरे । पुरस्कार पूर्वतेक्वान्दो अन्तर्राष्ट्रिय खेलाडी एवं नेपाल तेक्वान्दो संघका सदस्य हरिश्वर पोखरेलले प्रायोजन गरेका हुन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको अन्तिम दिन पुरुषको ५९ केजीमा मकवानपुरका अजय गुरुङ र ५५ केजीमा पर्साका सागर गुभाजु तथा महिलाको ५१ केजीमा आयोजककी सुष्मा श्रेष्ठले स्वर्ण जिते ।
विजेतालाई एमाले महासचिव ईश्वर पोखरेललगायतले पुरस्कार प्रदान गरेका थिए । तीनदिने प्रतियोगितामा आयोजक र तीन विभागीयसहित ४९ टिमका ४ सय ८० खेलाडीले १६ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया