नुन नपुगेको तरकारी

Manjari-Taruniकाठमाडौँ,, २२ वैशाख । युवापुस्तालाई लक्षित गरी टिनएजर युवायुवतीबीचको मायाप्रेमलाई पर्दामा उतार्ने प्रतिस्पर्धा छ, यतिखेर चलचित्र क्षेत्रमा । यिनैमध्येको चलचित्र हो, ‘मञ्जरी’ । मायाप्रेमका विषय सदावहार कथा मानिने भएर पनि होला सायद चलचित्रमा धेरैजसो प्रेमकथा समेट्ने गरिन्छ । तर, पहिले जस्तो यी विषयमा क्रेज समाउन भने सफल छैन । शुक्रबारबाट प्रदर्शनमा आएको नरेशदेव पाण्डे, महेश चालिसेद्वारा संयुक्त रूपमा निर्मित चलचित्र ‘मञ्जरी’ले पनि प्रेमका विषयलाई नै उठाएको छ । प्रेम शब्द छोटो भए पनि यसभित्र साह्रासंसार अडेको छ । तर, चलचित्रमा भने एक जोडी केटाकेटीको ख्यालख्यालमै बसेको माया र प्रेमका कारण उब्जिएको समस्या देखाइएको छ । चलचित्र बनाउने हतारोले गर्दा निर्देशकको यो प्रयास शतप्रतिशत सफल भने हुन सकेको छैन ।
मुम्बई नगरीबाट सिकेर नेपाली चलचित्रमा भित्रिएको धूम पिटाउने निर्देशक गणेशदेव पाण्डे र दुई दशक यसै क्षेत्रमा क्रियाशील प्रदीपकुमार उदयको संलग्नता रहेको एवं प्रचारप्रसाले व्यापक बनाइएको चलचित्र ‘मञ्जरी’बाट दर्शकले ‘हाई एक्स्पेक्टेसन’ गर्नु स्वाभाविकै हो । तर, चलचित्रले दर्शकको यो प्यासन मेट्न सकेको छैन । मात्र सामान्य किसिमले थुमथुम्याउने काम गरेको छ । सेन्सरको लफडा भनेर जसरी झुक्याइएको थियो, प्रचारप्रसारलाई पनि त्यही अर्थमा हेर्न सकिन्छ ।
शीर्ष भूमिकामा देखिएका गौरव पहाडी (चन्द्र) र सुजाता कोइराला (मैयाँ)कै वरिपरि घुमेको छ पूरै कथा । चन्द्र बाटो छेउकै मोटसाइकल वर्कसपमा काम गर्छ । भने मैयाँ पनि त्यही बाटो कलेज जान्छिन् । चन्द्रको आफूले मर्मत गरेको मोटर साइकल चेक गर्ने बानी छ । त्यही चेक गर्ने क्रममा एकदिन कलेज जाँदै गरेकी मैयाँको अगाडि लड्छ । मैयाँ चन्द्र लडेको देखेर हाँस्छे । चन्द्र उसलाई गाली गर्दै आफ्नो बाटो लाग्छ । मैयाँ कलेजतिर । चन्द्र लड्ने र मैयाँ हाँस्ने प्रसंग तीनपटक फरकफरक रूपमा हुन्छ । मैयाँको यो क्रियाकलाप सहन नसकेर चन्द्र कलेज जाँदै गरेकी मैयाँको बाटो छेकेरै गाली गर्छ । रिसमा उसले मैयाँलाई केटी मान्छे जस्तो भएर हिँड्नसमेत थर्काउँछ । सुरुमा चन्द्रको व्यवहारबाट डराएकी मैयाँको मनमा माया औँकुराउँछ । चन्द्रलाई मन पराउन थालेकी मैयाँ विभिन्न वहानामा चन्दैकै सामु पुग्छिन् । र, एकदिन चन्दलाई आफ्नो माया प्रपोज गर्छिन् । सुरुमा स्वीकार्न नसकेको चन्द्रले पछि मायाको महसुस गर्छ । केही दिनपछि मैयाँको घरमा अमेरिका निवासी केटोसँग विवाहको कुरो चल्छ । विवाहको कुरो टार्न उनले पढाइ अगाडि सार्छिन् तर यसले पनि विवाह नटर्ने देखेपछि मैयाँ र चन्द्र विवाह गर्न बुटवलबाट काठमाडौंतिर भाग्छन् । समग्रमा यही हो चलचित्रको कथा । उही पुरानै शैलीबाट हिरोहिरोइनको भेटसँगै चलचित्र सकिन्छ । चलचित्रको अन्त्यमा नायिकालाई एकपटक मञ्जरी भनिएको बाहेक नाम पुष्टि गर्ने अन्य कुनै आधार छैन । यो प्रयाप्त हैन ।
हिरोइनलाई मनपराउने अर्काे केटो भिलेन, चारपाँच गीत र त्यतिकै संख्याका फाइट राख्ने नेपाली चलचित्रको चलनचल्तीको ट्रेन हो  । यसले यी सबैलाई पूर्ण नकारेको छ । यद्यपि, चलचित्रमा उठाएको विषयलाई सही अवतरण गराउन असफल छन् निर्देशक पाण्डे । चलचित्रको कथाले सुरुदेखि अन्त्यसम्म सुमधुर गति समात्न सकेको छैन । मध्यान्तर अघिको प्रस्तुति जति दमदार छ मध्यान्तरपछि त्यति सवल बन्न सकेको छैन । कतिपय दृश्य लम्ब्याउने काम भएको छ जसलाई दर्शकले बोर फिल गर्छन् । चलचित्रमा नायक गौरव पहाडी र नायिका सुजाता सिटौलाले आफू नवकलाकार भएको महसुस गराउने कुनै ठाउँ छोडेका छैनन् । यसमा पनि सुजाता अगाडि देखिएकी छिन् । चन्द्रको सहयोगीका रूपमा देखिएका बालकार सुरज थापाको अभिनय चलचित्रको अर्काे सवल पक्ष हो ।
नायिकाको काकाको भूमिकामा देखिएका विष्णु रिजाले समय र परिस्थितिअनुसार आफूलाई परिवर्तन गर्दै लाने अभिनय तारिफ योग्य नै छ । बाबुको भूमिकामा देखिएका कलाकार टीका पहाडीको भूमिका सशक्त लाग्दैन । उनको अभिनय बीचमा नै हराएको छ । चन्द्रको साथीको भूमिका निर्वाह गरेका रेसमफिरिरिको भूमिका सुहाउँदो छ । अन्य कलाकार सहपाटी मात्र बनेका छन् । कतिय कलाकार अनाहकमा थुपारिएका छन्  ।
अत्यमा फाइट राखेर टुंग्याउने परम्पराबाट मुक्त राख्न खोजेका निर्देशक पाण्डे अन्त्यमा पुगेर चिप्लिएका छन् । चलचित्र टुंग्याउन उनी आफँै अलमलिएको प्रस्ट हुन्छ । जसकारण मध्यान्तरअघि दर्शकले आनन्द उठाउन सक्दैनन् । चलचित्रमा केही प्रसंग यस्ता छन् जुन निर्देशकबाहेक अन्यले किन राखिएको बुझ्न मुस्किलै पर्छ ।
उदाहरणका रूपमा श्रीमती कुटेको, आइसक्रिम बुबालाई किन्न लगाएको, कहिले सलाई र कहिले के माग्ने, नाम चन्द्र र मैयाँ भएको कोठामा केटाहरू  गएका प्रसंगलाई लिन सकिन्छ । चलचित्रका केही सिन यस्ता छन् जुन दक्षिण भरतीय चलचित्रमा देख्न पाइन्छ । यसले निर्देशकको लगाव दक्षिण भारीतय चलचित्रप्रति छ भन्ने प्रस्ट पार्छ ।
गीतसंगीत सुमधुर भए पनि त्यसअनुसार कोरियो ग्राफी हुन सकेको छैन । छायांकन, र द्वन्द्व सामान्य नै छ । करिब अढाइ घन्टाको चलचित्रले मध्यान्तरअगाडि दर्शक जति मनोरञ्जन दिन सकेको छ मध्यान्तरपछि सो गति समाउन सकेको छैन । मायाप्रेम, एक्सन, पारिवारिक, विषय, संघर्ष, कमेडी र सेन्टिमेन्टल मसला मिसाइएको चलचित्रले क्लाइमेक्समा जुन सेन्टिमेन्टल खुराक पस्कनुपर्ने हो त्यो गर्न सकेको छैन । त्यसैले चलचित्र नुन नपुगेको तरकारी जस्तो लाग्छ ।

प्रतिक्रिया