हाउजिङका घरमा ग्राहकलाई सास्थी

Housingभक्तपुर, २२ वैशाख । पहिला राम्रै विज्ञापन देखेर मख्ख परेका रोज भिलेज खरिद गरेका ग्राहकले कोलोनी निमार्ण कम्पनीको कारण अहिले सास्थी पाएका छन् । जीवनभरको कमाइ साँचेर एक करोडदेखि डेढ करोडसम्म पैसा तिरेर घर किनेका उनीहरू अहिले विवादमा परेका छन् । ६ लेनको सडकबाट ६ सय मिटरभित्र रहेको उक्त कोलोनीमा अहिले अन्य घरलाई पनि कोलोनीको बाटो प्रयोग गर्न दिने विषयमा दुई पक्षबीच विवाद बढेको छ । बालकोट–३ मा अवस्थित रोज भिलेज खरिद क्रर्ता र कोलोनीको बिक्रेता बाग्मती होम्सबीच विवाद बढेको हो । पीडितले कोलोनीमा नै पत्रकार सम्मेलन गदै आफूहरूको सामूहिक स्वामित्वमा रहेको २२ रोपनी ९ आना जग्गा र कोलोनीभित्रको बाटोमा कम्पनीले झमेला गर्न नहुने बताएका छन् । उनीहरूले ६० घरलाई घेरेर बनाइको पर्खाललाई बाग्मती प्रोपर्टी डिलर्सले सहमतिविना उत्तरतर्फको दुई सय मिटर पर्खाल भत्काएकोमा विरोध गरेका छन् । १७ वैशाखमा  बाग्मती प्रोपर्टी डिलर्सका सञ्ंचालक भेषराज लोहनी नेतृत्वको समूहले एकान्त समयमा कोलोनीमा पुरुष नभएको मौका पारी पर्खाल भत्काएको कोलोनी बासिन्दा प्रदीप पौडेलले बताए । उनले घरमा महिला मात्र भएको समयमा गुण्डा लगाएर बलजफत पर्खाल भत्काएको आरोप लगाए । उनीहरूले कम्पनीको यस्तो गतिविधिले आफूहरूलाई असुरक्षा बढेको भन्दै प्रहरीमा समेत निवेदन दिएको बताएका छन् । सामूहिक आवस सिद्घान्तअनुसार कम्पनीले ग्राहकलाई दिनुपर्ने आधारभूत सुविधासमेत रोज भिलेजमा नभएको पीडितले बताए । हाउजिङ कानुनअनुसार आफूहरूले न्याय पाउनु पर्नै भन्दै बासिन्दाले अदालतमा रिटसमेत हालेको र मुद्दाको अन्तिम किनारा नलागेसम्म पर्खाल नभत्काउने आदेश दिए पनि सोही दिन भत्काएको बताएका छन् ।
‘पहिले ६० घर बनाउने सम्झौता भएको भनेर कम्पनीले हामीलाई ठगेको छ हामीसँग त्यस्तो सम्झौता भएको छैन,’ पीडित शोभाकार बुढाथोकीले भने ।
उनले कोलोनी निर्माणकर्ताले आफन्त ५/६ जनासँग मात्र त्यस्तो सम्झौता गरेको हुनसक्ने दाबी गरे । कोलोनीभित्रका ६० घरले घर दिनुभन्दाअगाडि कम्पनीले सम्झौताअनुसारका कुनै पनि सर्त पूरा नगरेको बताएका छन् । उनीहरूले आवस क्षेत्रभित्र खानेपानी, ढल, विद्युत्को वैकल्पिक व्यवस्थालगायतको केही पनि पूर्वाधार नभएको दाबी गरे ।

प्रतिक्रिया