बियरिस ट्रेन्डमा सेयरबजार

काठमाडौं, २२ वैशाख । नेप्सेमा भारी गिरावट आएको छ ।  नयाँ वर्षको सुरुआतसँगै सेयर बजारमा सुधार हुने अपेक्षा गरिए पनि गत साता परिसूचक ५ सयभन्दा तल झरेपछि निराशाजनक अवस्था देखिएको हो । साताको पहिलो दिनको तुलनामा १२ दशमलव १५ अंकले ह्रास भई अन्तिम दिन ४ सय ९२ दशमलव ८५ अंकमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्जमा १ सय १३ कम्पनीको कारोबार भएको छ । जसमा ४ हजार ९५ कारोबारबाट २८ करोड ६ लाख ७० हजार रुपियाँ बराबरका ९ लाख ७५ हजार ६० कित्ता सेयर खरिद–बिक्री भएका छन् । गत साता १ सय १३ कम्पनीको कारोबार भएको थियो । जसमा ४ हजार १ सय ६ कारोबारबाट ३८ करोड २१ लाख ३८ हजार रुपियाँ बराबरका ११ लाख ८७ हजार ६ सय ७८ कित्ता सेयर खरिद–बिक्री भएका थिए । कारोबार रकममा गत साताको तुलनामा २६ दशमलव ५५ प्रतिशतले ह्रास भएको हो । कुल कारोबारमध्ये ‘क’ वर्गका कम्पनीहरूको मात्र १५ करोड १५ लाख ८० हजार रुपियाँ बराबरको कारोबार भएको छ । यो कुल कारोबारको ५४.०० प्रतिशत हो ।
साताको परिसूचक हेर्दा वाणिज्य बंैक समूहको सूचकांकमा १० दशमलव २९ अंकले ह्रास आएको छ । अन्य समूहको परिसूचकमा ३४ दशमलव शून्य  ६, जलविद्युत्मा १५ दशमलव ६९, बिमामा ३३ दशमलव ७३ र वित्तको  २ दशमलव ७९ अंकले ह्रास आएको छ ।
गत साता होटल समूहको बाहेक अन्य समूहको कारोबारमा वृद्धि हुन सकेन । यही अवस्था रहने हो भने अझ सेयर मूल्य घट्नसक्ने लगानीकर्ताले बताएका छन् ।
त्यसैगरी, ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २ दशमलव ८८ अंकले ह्रास भई १ सय २४ दशमलव २० अंकमा झरेको छ । गत साता कारोबार रकम ३ करोड ४७ लाख ५६ हजार रुपियाँका आधारमा एभरेस्ट बैंक
अग्रस्थानमा छ । त्यसैगरी, कारोबार भएको सेयर संख्या २ लाख ३२ हजार ४ सय ५१ कित्ताका आधारमा नेसनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा छ । त्यसैगरी, कारोबार संख्याका आधारमा ३ सय २५ वटाका आधारमा नेपाल बैंक अग्रस्थानमा छ ।
साताको उत्कृष्ट पाँच कम्पनीमा एभरेस्ट बंैक, चिलिमे हाइड्रोपावर कम्पनी, नेपाल बंैक, नेसनल हाइड्रोपावर कम्पनी, नेपाल इन्भेस्टमेन्ट बंैक रहेका छन् । गत साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरूको कुनै पनि कारोबार हुन नसकेको नेप्सेले जनाएको छ ।
१९ प्रतिशत सेयर बिक्री
थगितको माग
सेयर लगानीकर्ताहरूको संगठन नेपाल इन्भेस्टर्स फोरमले संस्थापक सेयरका १९ प्रतिशत सेयर बजारमा बिक्री गर्ने प्रक्रियालाई केही समयका लागि स्थगन गर्न माग गरेको छ ।
फोरमले विज्ञप्ति जारी गर्दै नेपाल राष्ट्र बैंकले संस्थापक सेयरको कारोबार गर्ने प्रक्रिया तथा धितोबन्धकसम्बन्धी व्यवस्थालाई सहजीकरण गर्नको साटो समूह परिवर्तनसम्बन्धी व्यवस्था गर्न उद्यत देखिएकाले समूह परिवर्तनसम्बन्धी उक्त व्यवस्था खारेज हुनुपर्ने माग गरेको हो । विज्ञप्तिमा पूर्णरूपको कम्प्युटरीकृत स्वचालित कारोबार प्रणाली कार्यान्वयनमा आएपछि मात्र १९ प्रतिशत सेयर दोस्रो बजारमा ल्याउने व्यवस्था गर्नुपर्ने जनाएको छ ।
धितोपत्र बोर्डले दुई साताअघि संस्थापक सेयरधनीमा रहने ७० प्रतिशत सेयरलाई ५१ मा सीमित गर्न बाँकी १९ प्रतिशत बजारमा बिक्री गर्ने व्यवस्था गरेको थियो । बोर्डले यो सेयर दलाल वा आफैँले मूल्य तोकेर बोलकबोलमार्फत बिक्री गर्न मिल्ने व्यवस्था गरेको थियो । ७० प्रतिशत संस्थापक सेयरलाई ५१ प्रतिशतमा सीमित गर्न दिने धितोपत्र बोर्डको निर्णयपछि सेयर बजार मापक नेप्से परिसूचक ५ सय ४० बाट ४ सय ९० को हाराहारीमा झरिसकेको छ ।

प्रतिक्रिया