चलचित्रमा चुरोट–सुर्ती सेवनको दृश्य देखाउन नपाइने

No-Smokingकाठमाडौँ, २२ वैशाख । नेपाली चलचित्र, डकुमेन्ट्री वा टेलिभिजन कार्यक्रमहरूमा अब धूमपान तथा सुर्ती सेवन गरेको वा सुर्तीजन्य पदार्थ प्रदर्शन गरेको दृश्य राख्न नपाइने भएको छ । त्यस्ता दृश्य राखिएमा एक लाखसम्म जरिवाना हुनेछ ।
सरकारले दुई वर्षअघि ल्याएको सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐनले कुनै पनि चलचित्र वा टेलिभिजन कार्यक्रममा त्यस्ता दृश्य राख्न नपाइने र जरिवानाको व्यवस्था गरिएको भए पनि हालसम्म कार्यान्वयन हुन सकेको थिएन । तर, अबदेखि हरेक नेपाली चलचित्र, डकुमेन्ट्री तथा टेलिभिजन कार्यक्रममा यस्ता दृश्य राख्न नपाइने व्यवस्था गर्न सेन्सर बोर्ड नेपालले काम गर्ने भएको छ ।
ऐनमा प्रष्ट व्यवस्था भएकाले त्यसको पूर्ण कार्यान्वयनका लागि काम अगाडि बढाइएको बोर्डका अध्यक्ष नारायण सञ्जेलले बताए । स्वास्थ्य खबरपत्रिकाले शुक्रबार गरेको ‘धूमपान र नेपाली चलचित्र’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै सेन्सरबोर्डका अध्यक्ष सञ्जेलले ऐनमा गरिएको व्यवस्था बोर्डले व्यवहारमा उतारिने उनले बताए । ‘सरकारले ल्याएको कानुनको पालना गर्नु हाम्रो काम हो, त्यसकारण अब हामी ऐनमा भएको व्यवस्थालाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउछौँ’, उनले भने ।
स्वास्थ्य मन्त्रालयका सचिव डा.प्रवीण मिश्रले ऐनले प्रष्ट रूपमा चलचित्र तथा टेलिभिजन कार्यक्रममा कुनै पनि पात्रले कथाले मागेको भन्दै धूमपान तथा सुर्ती सेवन गरेको दृश्य राख्न नपाउने व्यवस्था गरेको बताए । ‘हालसम्म चलचित्र तथा टेलिभिजन कार्यक्रमहरूमा मजाले चुरोट पिएको दृश्य राख्ने गरिन्थ्यो’, उनले भने ‘अब भने त्यस्तो दृश्य राख्नेलाई कारबाही गरिनेछ ।’ उनका अनुसार ऐन कार्यान्वयन हुुनुभन्दा पहिले नै उत्पादन भएका चलचित्र वा टेलिभिजन कार्यक्रममा त्यस्ता दृष्यहरू भएमा हटाएर मात्रै वा दृश्यका तल स्वास्थ्य सन्देशहरू अनिवार्य राख्नुपर्नेछ ।
ऐनको दफा १० मा सुर्तीजन्य पदार्थको विज्ञापन तथा प्रवद्र्धनमा समेत पूर्णरूपमा रोक लगाएको छ । कसैले पनि पत्रपत्रिका तथा रेडियो, टेलिभिजन, एफएम, इन्टरनेट, इमेल जस्ता विद्युतीय सञ्चार माध्यम, अन्तक्र्रिया कार्यक्रम, होर्डिङ बोर्ड, भित्तेलेखन, लोगो, संकेत, लेख, दृश्य, आवाज, चिह्न, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट सूर्तीजन्य पदार्थको विज्ञापन र प्रवद्र्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न नपाउने व्यवस्था गरिएको छ । कसैले त्यसको विपरीत काम गरे एक लाख रुपियाँसम्म जरिवाना गर्ने व्यवस्था ऐनमा छ ।
निर्देशक समाजका अध्यक्ष दिनेश डिसीले ऐनमा भएको व्यवस्थाअनुसार धूमपान तथा सुर्तीजन्य पदार्थको प्रवद्र्धन र प्रचार गर्ने खालको दृश्य नराख्न सबै निर्देशकहरूले सहयोग गर्ने बताए । तर, चलिचित्रबाट पूर्णरूपमा धुम्रपानका दृश्य भने हटाउन नमिल्ने उनले बताए । उनका अनुसार चलचित्रमा धूमपान तथा सुर्ती सेवनका असरका बारेमा जानकारी दिनका लागि पनि दृश्य देखाउनुपर्ने हुन्छ । ‘बरु त्यस्ता दृश्यलाई नकारात्मक रूपमा प्रस्तुत गर्नेछौँ’ उनले भने, ‘यसका साथै ऐनअनुसार नै जानका लागि बरु त्यस्ता दृश्य भएका स्थानमा स्वास्थ्यमा पर्ने असरका सन्देशहरू लिखित रूपमा राख्न सकिनेछ ।’
चलचित्र कलाकार संघकी उपाध्यक्ष लक्ष्मी गिरीले ऐनमा भएको व्यवस्था निकै राम्रो भएकाले पूर्ण कार्यान्वयन हुनुपर्ने बताइन् । उनले आफ्नो संस्था ऐनको पूर्ण कार्यान्वयनका लागि तयार रहेको बताइन् ।

प्रतिक्रिया