कवितामा सिमान्तकृत धून

Suwash‘बागी सारङ्गी’ पढिरहँदा लाग्यो, कवि सरस्वती प्रतीक्षाले झलकमान गन्धर्वहरूको सिमान्तकृत बिम्बलाई कविताको भ्रूणमा रूपान्तरण गरेकी रहिछन् । कति सुन्दर कविता :
हे बरै †
झलकमानका सारङ्गीहरूको
एउटा धून
अँध्यारो पुस्तकालयभित्रका पुस्तकका धूलो टक्टकाइरहेछ
तिथिमितिका क्यालेन्डरहरूलाई नै आधार मान्ने हो भने सरस्वती प्रतीक्षा भर्खर तीनदशक पार गर्दैछिन् । तर, अनुभवका क्यालेन्डरमा, संवेदनाका क्यालेन्डरमा अनि परिपक्वताका क्यालेन्डरमा प्रतीक्षाले युुगौँ पार गरिसकेको गतिलो प्रमाण हो ‘बागी सारङ्गी †’ आफ्ना कविताहरूमा समकालीन समयको तिख्खर बिम्बहरूलाई टिपेर तिनलाई कविताको क्यानभासमा निकै लोभलाग्दो गरी टाँसेकी छिन् प्रतीक्षाले ।
‘बागी सारङ्गी’ लाई कवि प्रतीक्षाले चार खण्डमा बाँढेकी छिन् । प्रथम खण्ड ‘आधा क्यानभासमा देश,’ जसमा १६ वटा समसामयिक कविता छन् । दास्रो खण्डमा ७ वटा नारीवादी कविता छन् । शीर्षक छ–‘सुत्केरी कविताहरू’ । तेस्रो खण्डमा ‘प्रेमाख्यान’ शीर्षकमा ५ वटा प्रेम कविता छन् । जीवन भोगाइ र विसंगतिहरूलाई उठान गर्ने १० वटा कविता छन् अन्तिम अर्थात् चौथो खण्डमा, ‘सम्बोधित आस्था’ शीर्षकमा । यसरी जम्माजम्मी ३९ कवितालाई फरकफरक स्वादमा पस्केकी छिन् प्रतीक्षाले ।
किताबमा ‘बागी सारङ्गी’ शीर्षकको एउटा पनि कविता छैन । यद्यपि पाठकले नेपालमा ठूल्ठूला स्वरहरूमा घन्कन थालेका रिमिक्स र ब्रायन एडम्सहरूसँगै कुना पस्न विवश सारङ्गीहरूको कथा व्यथा प्रशस्त भेट्नेछन् । हलियारामको माटोको अनुहारदेखि भोक, तिर्खा, निद्रा सबै तातो हुने उँटहरूको देशमा काम गर्न विवशहरूको कथासँग साक्षात्कार गर्नेछन्, पाठकले । त्यस्तै समाचारपत्र, एफएम, रेडियो, मानवअधिकारवादी, नारीवादीहरू सबैबाट लुटिएर रित्तो हात भएकी सुन्तली धामीदेखि चुनढुंगाका मालिकहरूसँग आफ्नो पसिनाको मूल्य माग्न सक्ने भएकी दिलसरा चेपाङसम्मको चित्र पढ्न पाउनेछन् । तपस्यारत सिद्धार्थ गौतम र सुजताको प्रेमकथादेखि प्रकृतिको कौमार्यको सुगन्ध बोकेको अर्गानिक मायाको स्वाद पनि यही संग्रहले पदार्पण गर्नेछ । समग्रमा पहिले मादल र अहिले ड्रमसेटका कारण सबाल्टर्न बनाइएका सारङ्गीहरूको कलात्मक धून सुन्न पनि यो पुस्तक पढ्नु अनिवार्य जस्तै छ ।
कविताहरू सुललित भएर बगेका छन् । ओझपूर्ण शब्दहरूको मिलन, पूर्वीयदेखि पश्चिमा मिथकहरूको समुचित तालमेल र विचारको तीव्रताले कविताको महिमा बढाइदिएको छ । तर, कविताका नयाँ पाठकहरूलाई भने कविता क्लिष्ट बन्ने भय पनि उत्तिकै छ ।
संग्रहका सबै कविताहरू दमदार हुँदाहुँदै पनि दोस्रो खण्डमा कवि अझ उत्कृष्ट ढंगले पोखिएकी छिन् । आफैँ पनि नारी हुनुका नाताले नारीवादी कवितामा उनको स्वर अझ चर्काे सुनिनु स्वाभाविक हो । पितृसत्तात्मक समाजमा नारीलाई वस्तुसमान मान्ने र अनेक ढोंगहरूको खेती गर्ने परिपाटीलाई उनले आफ्ना कवितामार्फत सख्त अस्विकार गरेकी छिन् । ‘अदालत’ र ‘प्रतिपक्षको मान्छे’ कवितामार्फत उनको रेडिकल फेमिनिस्ट सोच अगाडि आइरहेको जो कोहीले महसुस गर्छन् । त्यसो त ‘पैयुँ रुँदिन आजकल’को घोषणा पनि कम आँटिलो होइन :
ओ, मेरो प्रियतम †
प्रेम त गर्छु म तिमीलाई
तर प्रेममा दासत्व अस्वीकार गर्छु    कवितालाई गाली र प्रश्नका थुप्रो मात्रै हुनबाट जोगाउन भने कवि आगामी दिनमा सचेत हुन जरुरी छ । यी कविता नारी र अझ मानव समाजमा नै असन्तुष्टि र उकुसमुकुस ल्याउन त सक्षम होलान् तर त्यसपछि के ? कविले कम्तीमा विद्रोहको झन्डा पनि सँगसँगै उठाइदिएका भए तिनै असन्तुष्टि शक्तिमा रूपान्तरण हुने बाटो निर्माण हुन्थ्यो । नत्र कैयन् असन्तुष्टिहरू जस्तै यिनीहरूको पनि अन्त्य फगत तुषमा गएर नहोला भन्न सकिन्न ।
संग्रहका केही छोटा र चारवटा अति छोटा कविताहरूले भूपी शेरचनको ‘घुम्ने मेच माथि अन्धो मान्छे’का छोटा कविताहरू सम्झाइदिन्छ । ‘विद्रुप’ शीर्षात्मक छोटो कवितालाई पाठकले चिरकालसम्म सम्झिरहनेछन् । कविता जस्तै मीठा छन् सूर्य बराइलीको आवरण कला र स्केचहरू । तर, ‘स्पिक ओन्ली ह्वेन योर ओड्स आर मोर ब्युटिफुल देन साइलेन्स’ भन्ने भनाइ प्रियकर लाग्ने लेखकले आफ्नो भनाइ राख्नका लागि आधा दर्जन पृष्ठ खर्च गर्नुलाई तर्कसंगत मान्न सकिन्नँ । त्यसो त मौनतापछि धेरै बोल्न पाउनुलाई लेखकले आफ्नो हक मानेको पनि हुनसक्छ ।

प्रतिक्रिया