स्ववियु चुनावको बाटो खुल्यो

काठमाडौं : सर्वोच्च अदालतले स्वतन्त्र विद्यार्थी युनियनको चुनावको बाटो खोलिदिएको छ । उमेरको हदबन्दी र प्रणालीबारे परेको रिटमा सर्वोच्च अदालतले शुक्रबार सुनवाइ गर्दै त्रिभुवन विश्वविद्यालयले कानुन बनाई कार्यान्वयन गर्नसक्ने भन्दै फैसला गरेपछि स्ववियु चुनावको बाटो खुलेको हो ।
न्यायाधीशहरू रामकुमारप्रसाद साह, तर्कराज भट्ट र वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले रिटमा अन्तरिम आदेश दिनु नपर्ने फैसला गरेको हो । फैसलामा निवेदकलाई कुनै अपूरणीय क्षति नपुग्ने हुँदा अन्तरिम आदेश दिन नपर्ने उल्लेख गरिएको छ । तर, लिखित जवाफ आएपछि पुन: विचार गर्नसक्ने फैसलामा भनिएको छ ।
नेपाल ल क्याम्पसका सभापति गुणराज आचार्य, पद्मकन्या क्याम्पसकी स्ववियु सभापति स्वस्तिका पोखरेललगायत ११ जनाले गत १० वैशाखमा उम्मेदवारलाई उमेरको हदबन्दी तोक्न नपाइने र निर्वाचन प्रणाली सच्चाउन भन्दै दायर गरेको रिटमा मन्त्रिपरिषद् अध्यक्ष, त्रिविका सहकुलपति, उपकुलपति, रेक्टर र रजिस्ट्रारलाई विपक्षी बनाइएको थियो ।
उनीहरूले स्ववियु उम्मेदवारको २८ वर्ष उमेरको हदबन्दी तोक्न नपाइने, पदाधिकारीको प्रत्यक्ष प्रणाली हुनुपर्ने र पढाइ सकेसँगै पदावधि नसकिनुपर्ने जिकिर रिटमा गरेका थिए । गत २३ चैत्रमा भएको त्रिवि सभाले स्ववियुको नियमावली संशोधन गर्दै अर्को कार्यकालदेखि २८ वर्ष नाघेकाले स्ववियुको चुनावमा उम्मेदवार हुन नपाउने र मिश्रित प्रणालीमा चुनाव गर्ने निर्णय गरेको थियो । (सौस)

प्रतिक्रिया