विद्यार्थी नेतालाई उमेर हद लागू गर्न आदेश

TUकाठमाडौं, २० वैशाख । सर्वोच्च अदालतले स्वतन्त्र विद्यार्थी यूनियनको चुनावमा त्रिभुव विश्व विद्यालयले विद्यार्थी नेताका लागि लागू गरेको उमेर हद र प्रावधानलाई सदर गरेको छ ।
न्यायाधीश रामकुमारप्रसाद साह, तर्कराज भट्ट र वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले शुक्रबार गरेको सुनुवाईमा स्ववियु निर्वाचनमा त्रिविले गरेको व्यवस्थालाई सदर गर्ने निर्णय गरेको हो । सर्वोच्चले त्रिविले आफैले नियम बनाई कार्यान्वयन गर्न सक्ने आदेशमा उल्लेख गरेको छ ।
निर्वाचनको प्रावधान र उमेरहदका सम्बन्धमा अन्तरिम आदेश दिनु नपर्ने जनाएको सर्वोच्चले निर्वाचन प्रक्रिया अघि बढाउन त्रिविलाई आदेश दिएको छ ।
सर्वोच्चको आदेशसँगै स्ववियु निर्वाचन प्रक्रिया अघि बढ्ने नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए । लामिछानेले सर्वोच्चको आदेशलाई नेविसंघले स्वीकार गर्ने बताए । त्रिविले २८ वर्ष उमेर सम्म मात्रै स्ववियु निर्वाचनमा उम्मेद्ववार हुन पाउने व्यवस्था गरे पछि नेविसंघ र अनेरास्ववियुले सो प्रावधान हटाउन माग गरेर सर्वोच्चमा रिट दायर गरेका थिए ।
सर्वोच्चको सो आदेशसँगै आगामी जेठमा गर्ने भनिएको स्ववियु चुनावका लागि बाटो खुलेको छ । स्ववियु निर्वाचन मिश्रित प्रणालीमै हुने छ भने २८ वर्ष सम्मका नेताहरुले मात्रै प्रतिस्पर्धा गर्न पाउने छन् ।
स्ववियु निर्वाचनको माग गरेर नेविसंघले आमरण अनशन समेत गरेको थियो । नेविसंघ र अनेरास्ववियुले मिश्रित निर्वाचन प्रणालीको विरोध गर्दै आएका छन् भने अखिल क्रान्तिकारीले त्यसको बचाउ गर्दै आएको छ ।

प्रतिक्रिया