‘एमाओवादीलाई लाल्टिन बालेर खोज्नु पर्छ’

Jn-Khanalदैलेख, २० वैशाख । एमालेका अध्यक्ष झलनाथ खनालले अब हुने संविधानसभाको निर्वाचनमा नेपाली जनताले एमाओवादीलाई ठेगान लगाई दिने चेतावनी दिएका छन् ।
प्रेस चौतारी नेपालले शुक्रबार दैलेखमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा खनालले आगामी मंसिर महिना पछि एमाओवादीलाई गाउँ/गाउँमा लाल्टिन बालेर खोज्नु पर्ने अबस्था आउने बताए । ‘एमाओवादीलाई मंसिरमा हुने निर्वाचनमा जनताले ठेगान लगाई दिन्छन्,’ उनले भने, ‘मंसिर पछि एमाओवादीलाई गाउँ/गाउँमा लाल्टिन बालेर खोज्नु पर्छ ।’
एमाले पार्टी नै छैन भने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको भनाईलाई खनालले ‘पाखण्डीपन’ र ‘पागलपन’को संज्ञा दिए । उनले गाउँ/गाउँमा एमालेप्रतिको जनलहरबाट अताल्लिएर अध्यक्ष दाहालले एमालेलाई नदेखेको हुनसक्ने टिप्पणी गरे ।
अध्यक्ष खनालले मंसिरमा हुने संविधान सभाको चुनाव पछि एमाओवादीको ठूलो दलको हसियत नरहने बताए । ‘एमाओवादीलाई जनताले चिनेको छन्,’ उनले भने, ‘एमाओवादीले नै नयाँ संविधान बन्न नदिएको हो भनेर जनताले चिनेका छन् ।’
जनताबाट एमाओवादीले विश्वास गुमाई सकेको अध्यक्ष खनालको भनाई थियो । २०६२/६३ को जनआन्दोलनले गरेका उपलब्धिलाई संस्थागत विकास, राष्ट्रियताको संरक्षण, स्थायी शान्तिका लागि एमालेले मुलुक चलाउनु पर्ने उनले बताए ।
लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियूक्तिको सिफारिसमा एमालेले पुन: विचार गर्ने खनालले बताए । उनले जनआन्दोलनका दोषीलाई एमालेको समर्थन नरहने बताए ।

प्रतिक्रिया