सम्पादकीय

कम्युनिस्ट प्रचारको रूप

सौर्य अनलाइन २०७० वैशाख १९ गते २३:२३ मा प्रकाशित

संविधानसभाको निर्वाचन हुने नहुने निश्चित नभए पनि केही दललाई चुनाव लागि सकेको छ । दलका नेतालाई चुनावको चटारो भइसकेको कुरा १२४ औँ मजदुर दिवस मनाउने क्रममा देखिएको छ । एमाओवादीका नेताहरूले बुधबार सुनसरीको इटहरीमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै निर्वाचनका लागि क्रान्तिकारी, प्रगतिशील र सच्चा देश भक्तहरूको मोर्चा बनाएर चुनावमा जानुपर्ने उद्घोष गरे । आफूहरूसँग मिल्ने जति सबै क्रान्तिकारी र नमिल्ने जति यथास्थितिवादी हुने विचार राख्ने नेपालका कम्युनिस्टहरू त्यसको व्याख्या भने गर्न सक्दैनन् । मधेसी मोर्चा, क्रान्तिकारी, प्रगतिशील, सच्चा देशभक्त लाग्ने कम्युनिस्ट नामक दललाई एमाले, जनमोर्चा र मजदुर किसान पार्टी जस्ता दलहरू प्रगतिशीलसमेत लाग्दैनन् । एमाओवादीको व्याख्या नेकपा–माओवादीले गर्छ भने नेकपा माओवादीको न्वारानदेखि मृत्युसम्मको इतिवृत्तान्त एमाओवादीले जान्दछ । एमालेले एमाओवादीलाई कम्युनिस्टबाट च्यूत भएको टपर्रटुइँयाहरूको पार्टी ठान्छ भने एमालेलाई पनि एमाओवादीले यथास्थितिवादी, संसदीयपद्धतिको अनुयाइ र दक्षिणपन्थी भन्ने आरोप लगाउँछ । जनताका मूल्यांकनमा भने नेपालका कम्युनिस्ट पार्टीहरू सबै उस्तै छन् । केही समय अघिसम्म एमाओवादीमा थोरै भिन्नता थियो । उक्त दलले अघि सारेका जनपक्षीय नाराहरूले विश्लेषण गर्न नसक्ने जनतालाई आकर्षित पनि गरेको थियो । तर, वर्तमानमा आइपुग्दा ‘जुन जोगी आए पनि कानै चिरेको, चिम्टै भिरेको’ युक्ति चरितार्थ भएको छ । तसर्थ, नेपालका कम्युनिस्टहरू कुनै पनि प्रगतिशील, क्रान्तिकारी र सच्चा देश भक्त छैनन् ।
मूलत: नेपाली नेता भाँती पुर्‍याएर र नढाँटी बोल्न सक्दैनन् । त्यसमा पनि आफूलाई क्रान्तिकारी कम्युनिस्ट भनाउँदाहरूले अचम्मैसँग जनतालाई भ्रमित पार्ने गरेका छन् । अघिल्लो दिन काठमाडौंमा कम्युनिस्ट पार्टीका नेताले साम्राज्यवादी अमेरिका र विस्तारवादी भारत देखिरहेको हुन्छ भने भोलिपल्ट हेटौंमा आफ्ना दस्तावेज र भाषणमा त्यसको उच्चारण पनि गर्दैन । यसपछि जनताले सोच्न थाल्छन् अमेरिका र भारत सच्चिएका हुन कि आफ्नै देशको कम्युनिस्ट पार्टी सच्चिएको हो । जनतालाई मात्र होइन आफ्नै कार्यकर्तालाई समेत यस्ता दलहरूले भ्रममा राखिरहेका हुन्छन् । अघिल्लो दिनसम्मको आफ्नो विचार ठीक थियो कि गलत त्यो पनि स्पष्ट पार्दैनन् । कोही जनताको बहुदलीय जनवादलाई कम्युनिस्ट सिद्धान्तमा परिमार्जित उच्च रूप ठान्छन् भने कोही प्रचण्ड पथलाई ‘माओ’ विचार समान भनेर व्याख्या गर्छन् । जब चुनाव आउँछ वा प्रतिस्पर्धा गर्नुपर्ने समय नजिकिन्छ तब कम्युनिस्टहरू एकअर्काको उछितो काड्न थाल्छन् ।
संविधानसभाको चुनाव हुने निश्चित नभए पनि प्रचार सुरु भएको छ । एकअर्कालाई गाली गरेर नेताहरूले चुनावी भाषणको उद्घाटन गरिसकेका छन् । यससँगै यथास्थितिवादी र परिवर्तनकारी शक्ति ध्रूवीकृत हुने बेला आइसकेको ठोकुवा पनि गर्दै छन् । राजा महेन्द्रले दिएको मोहियानी हकसमेत खोस्ने सोच बोकेका कम्युनिस्ट पार्टीका नेताले आफ्ना विचारहरू ठीक ढंगले प्रस्तुत गर्न नसक्दा ठूला कम्युनिस्ट पार्टीका कार्यकर्ता नै भ्रममुक्त भएपछि त्यही ठूलो पार्टी सानो हुने गरेको छ । एमालेका अध्यक्ष स्व. मनमोहन अधिकारीबाहेक सरकारमा पुगेका कम्युनिस्ट नेताले राष्ट्र र जनताका पक्षमा सिन्को समेत नभाँचेको इतिहास हाम्रोसामु छ । तसर्थ, यहाँ क्रान्तिकारी, प्रगतिशील र सच्चा देश भक्त अथवा यथास्थितिवादी र परिवर्तनकारी छुट्याउन छाडेर राष्ट्र र जनताको आवश्यकता पूरा गर्ने संकल्प गर्नुपर्छ । चुनाव आउनुभन्दा अगाडि नै गालीगलौजमा उत्रनु नेताका लागि स्वभनीय हँदैन । तसर्थ, सभ्य र शिष्ट भाषामा भाषण गर्ने बानी बसाल्न जरुरी छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय