अरुण र गुन्जा नेकोसकपको क्वार्टरफाइनलमा

taekwondo-photoकाठमाडौं: बर्दियाका अरुण बस्नेत र दोलखाका गुन्जा लामा दोस्रो नेकोस राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको पुरुष ५१ केजी तौल समूहमा क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । उनीहरूसँगै सिन्धुलीका विरु थापा मगर, पर्साका विक्रम डंगोल, आयोजक राष्ट्रिय तेक्वान्दो संघका यमन खड्का, सैनिक महाविद्यालयका सान्गाम शाह, चितवनका सुमन आले तथा आयोजकका मिलन महत पनि क्वार्टरफाइनलमा स्थान बनाउन सफल रहे ।
महिलाको ४९ केजीको भिडन्तमा विजेश्वरीकी करुणा थापा, भक्तपुरकी रविना रेग्मी, रामेछापकी पाल्मु शेर्पा, काभ्रेकी अस्मिता खड्का, चितवनकी सुस्मिता थापा मगर तथा बर्दियाकी पूजा गैरे विजयी भए ।
महिलाको ४२ केजीमा नुवाकोटकी सविता पुडासैनी, मकवानपुरकी सिरिसा ढकाल, उदयपुरकी सुजा राउत, सिरहाकी अञ्जली भुजेल, सुनसरीकी सीमा मादेन, पर्साकी दिव्या तिवारी, भक्तपुरकी रोशनी तामाङ तथा विजेश्वरी विनिका जोशी आ–आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गरी क्वार्टरफाइनलमा पुगे ।
प्रतियोगिताको नेकपा (एमाले) नेता केपी शर्मा ओलीले उद्घाटन गरे । उक्त अवसरमा एमाले खेलकुद इन्चार्ज कर्ण थापा र ओलम्पिक कमिटीका महासचिव जीवन रामश्रेष्ठलगायतको उपस्थिति थियो । नेता ओलीले खेलकर्मीले देखाएको अनुशसानबाट सबैले पाठ सिक्नुपर्नेमा जोड दिए । राष्ट्रिय तेक्वान्दो संघका अध्यक्ष बद्री घिमिरेले यो प्रतियोगिताले नेपाली तेक्वान्दोको विकासमा धेरै सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
तीनदिने प्रतियोगितामा ४६ टिमका २ सय ३० पुरुषसहित कुल ४ सय ६० खेलाडीले कुल १६ स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेका छन् । (सौस)

प्रतिक्रिया