पर्यटनका लागि संगीतमा

ganesh-neupaneगणेश न्यौपानेले तीन दशक बिताइसके पर्यटनक्षेत्रमा । तर, मानिसहरू उनलाई कलाकारका रूपमा पनि चिन्छन् । सफल पर्यटनव्यवसायीसँगै गायक तथा संगीतकार पनि हुन् । हुन त गीतसंगीतमा नाम कमाउँला भन्ने उनले कहिल्यै सोचेका रहेनछन् । तर, नसोचेकै कुरा भएको छ । रहरैरहरमा लागेको संगीत क्षेत्रले उनलाई विशेष बनाइदिएको छ । धरान ठिंगाबारीका गणेश केही वर्षयता संगीतमा प्रशंसा कमाइरहेका छन् । भन्न थालेका छन्, ‘अब त छोड्नै नसकिने भइयो ।’ मोन्टेरोसा ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिका प्रबन्धनिर्देशक हुन् उनी ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को कार्यसमितिमा दुई कार्यकाल सचिव र सदस्यको भूमिका निर्वाह गरिसकेका उनी भन्छन्– ‘पर्यटन तथा गीतसंगीत दुवै क्षेत्रलाई एकसाथ अगाडि बढाइरहेको छु ।’ विभिन्न ठाउँमा ट्रेकिङ जाँदा मादल, बासुरी बोकेर नेपालीपन झल्कने गीत विदेशीलाई सुनाउने गरेको अनुभव उनीसँग छ । ठेट नेपाली भाका सुनाएर पर्यटकलाई थुपै्र पटक नचाएका छन् ।
‘धनकुटा डाँडा बजार, भेटौंला धनकुटा भेडेटार’, ‘लैलै मा कान्छी’, ‘निशान डाडा’, ‘सोल्टीनी कान्छी’, ‘शैलुङ्गे डाडाको शिरैमा चिया टिपेर, धनकुटा मुलघाट दोभान, तमोर तरेर’, ‘चौबिसेमा बासै बसेर’ जस्ता गीतबाट नेपाली सांगीतिक आकाशमा लोकप्रियता कमाउँदै छन् ।
नेपालका थुप्रै पर्यटकीय स्थल ओझेलमा परेकाले ती ठाउँलाई गीतसंगीतको माध्यमबाट लोकप्रिय बनाउने उनको उद्देश्य रहेछ । त्यसैले त उनका प्राय: गीतमा पर्यटकीय स्थानहरू समेटिएका भेटिन्छन् । प्रायजसो संगीतकर्मी मायाप्रीति र सस्तो मनोरञ्जनका गीतमा केन्द्रित भइरहँदा यी गायक भने पर्यटनका लागि गीत गाइरहेछन् ।
धनकुटाको बुढिमोरङमा जन्मिएका उनी भन्छन्, ‘विशेष गरी आन्तरिक पर्यटनलाई सहयोग पुर्‍याउनु मेरो चाहना हो ।’ तर, मायाप्रेमका बान्की पनि उनका गीतमा सयपत्री फूलको मालाझैँ गुथिएकै छन् । भन्छन्, ‘मायाप्रेम त जहाँ पनि आइहाल्छ तर त्यसमा पर्यटन र संस्कृतिलाई मिसाएको छु ।’ विभिन्न जातजातिको संस्कृति झल्कने मारुनी, ठेट पूर्वेली गीतिभाका उनका एल्बममा सुन्न पाइन्छ ।
उनले जन्मगाउँठिंगबारीबारे लेखेको ‘वारि छ निसान डाँडा.. बीचैमा पर्‍यो गाउँ मेरो त्यही ठिंगाबारी’ को दृश्यसंग्रहमा स्थानीय रहनसहनदेखि सामाजिक अवस्थितिसम्मलाई उतारेका छन् । विगत ९ वर्षदेखि गायनमा समर्पित गणेश ‘झुम्के सल फिरीरी’ नामक पश्चिमेली दोहोरी एल्बममार्फत संगीतमा आएका थिए । त्यसपछि लोकआधुनिक एल्बम ‘शीतको थोपा’, ‘धनकुटा डाँडाबजार’, ‘लैलैमा कान्छी’ पछि अफ्नै संगीत कम्पनी हिमाली क्रिएसन खोली ‘यानीमाया’, ‘सोल्टिनी कान्छी’, ‘निष्ठुरी मायालु’ सहित ७ गीति संग्रह बजारमा ल्याइसकेका छन् ।
‘धनकुटा डाँडाबजार’ ले निकै लोकप्रियता पाएको थियो । यसैबाट उनी श्रोतामाझ चिनिएका हुन् । ‘लैलैमा कान्छी’ले उनलाई नेपाली संगीतमा टिपीकल गायक/गीतकारका रूपमा चिनाएको थियो । ‘धनकुटा डाँडाबजार एल्बमले धेरै श्रोतामाझ चिनायो, २०६५ मा इमेज अवार्ड पनि दिलायो,’ उनले खुसी सुनाए, ‘हौसिएर लैलैमा कान्छी ल्याएँ, त्यो पनि उत्तिकै लोकप्रिय बन्यो ।’
‘यी एल्बमको सफलतापछि अब आफू हराउनु हुन्न भन्ने भयो,’ उनी सुनाउँदै छन्, ‘त्यसैले थप एल्बम ल्याइरहेँ ।’ उनले लोकविधाबाट ०६५, ०६७, ०६८ सम्म ३ पटक इमेज अवार्ड हात पारिसके । उनैले गाएको ‘यानी माया’को गीत ‘फूलै र फुल्यो दुई थुगा लर्केर’ ०६७ र ‘सोल्टिनी कान्छी’को ‘ढाकाटोपी शिरैमा’ ले ०६८ मा सर्वोकृष्ट लोकगीते अवार्ड हात पारेको थियो ।
हाल निष्ठुरी मायालु नामक गीति एल्बमको तयारीमा रहेका उनी गीत लेखन, म्युजिक भिडियोको निर्देशन पनि आफैँ गर्छन् । भन्छन्, ‘गीतदेखि म्युजिकभिडियोसम्मै नेपालीपन अनि मौलिकता हराउँदै गएको छ, त्यसलाई जोगाउन अपरिहार्य भैसेकेको छ, त्यसैले म्युजिक भिडियो निर्देशनतिर पनि लागेको छु ।’
अहिले बनिरहेका अधिकांश लोकगीतका म्युजिकभिडियोमा छाडापन देखिने बताउँछन् । गणेश ३ वर्षयता पर्यटकलाई लक्षित डकुमेन्ट्री बनाउँदै उनीहरूलाई यतारित आकर्षित पनि गरिरहेछन् । उनले कैलाश मानसरोबर यात्रा, टिबेट भ्रमण यात्रा, चितवन जंगल सफारी, लुम्बिनी भ्रमण यात्रा, धनकुटा डाँडाबजार र धोजे डाँडा, ठिंगावारी धरानका मठमन्दिर साथै वराह क्षेत्र, त्रिशूली जलयात्रा, पोखरा टुर, काठमाडौं उपत्यका भ्रमणयात्रा जस्ता डकुमेन्ट्री बनाइसकेका छन् ।
— दीपक

प्रतिक्रिया