महिला सहभागिता ३३ प्रतिशत नै : गच्छदार

काठमाडौं, २० वैशाख । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संविधानसभा चुनावमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता परिणाममै सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन् ।

गच्छदारले बिहीबार महिला अधिकारकर्मीसँगको भेटमा राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत सहभागिता हुने बताएका हुन् । महिलाका लागि आरक्षित सिट छुट्याउन आफ्नो पार्टी सकारात्मक रहेको उल्लेख गर्दै उनले महिलाले देशको राजनीतिमा पुर्‍याएको योगदान अतुलनीय रहे पनि विविध कारणले पछि परेको बताए ।
सञ्चारिका समूह, दिदीबहिनीलगायत २४ वटा संस्थाका प्रतिनिधिले गच्छदारलाई ज्ञापनपत्र बुझाएका थिए । सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्मा र दिदीबहिनीको संस्थाका अध्यक्ष सलोनी सिंहले राजनीतिक दलहरूले निर्वाचन ऐनमै महिला सहभागिताको सुनिश्चितता गराउनुपर्ने बताएका थिए ।

प्रतिक्रिया