कांग्रेस नेताले कर्मचारी कुटे

NC flag1गुल्मी : नेपाली कांग्रेस गुल्मीका एक नेताले सरकारी कर्मचारीलाई कुटपिट गरेका छन् । कांग्रेस गुल्मीका महाधिवेशन प्रतिनिधि वेदबहादुर थापाले गाविस सचिव र कृषि सेवाकेन्द्रका कर्मचारीलाई कुटपिट गरी नाक फुटाइदिएका छन् ।
भनेअनुसार काम नगरेको भन्दै थापाले खड्गकोट गाविसका सचिव भोजबहादुर राना र फोक्सिङ कृषि सेवा केन्द्र प्रमुख ताराप्रसाद चापागाईंलाई कुटपिट गरेका हुन् । पूर्तिघाट, अर्वेनी, फोक्सिङ, खड्गकोट, जयखानी, भुर्तुङ, भार्सेलगायतका गाविसका जनतालाई सेवा दिन पूर्तिघाट बजारमा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमा आफ्नो काम नगरिदिएको भन्दै थापाले कुटपिट गरेको सचिव रानाले बताए । ‘उहाँले जबर्जस्ती काम गरिदिन भन्नुभयो, मैले मिल्दैन सर, प्रमाण पुर्‍याएर ल्याउनुस् भनेपछि हिर्काउनुभयो,’ रानाले भने ।
कांग्रेस नेता थापाले रानालाई कुटपिट गरेपछि विवादको विषय बुझ्नखोज्ने कृषि सेवा केन्द्र प्रमुख चापागार्इंलाई समेत आक्रमण गरेका थिए । आक्रमणबाट चापागाईंको नाथ्री फुटेको छ । कुटपिटपछि सात वटा गाविसका सचिवले शिविरका सम्पूर्ण काम रोकेका थिए । प्रशासन र प्रहरीको दबाबपछि उनीहरूले काम पुन: आरम्भ गरेका थिए । सहायक प्रमुख जिल्ला अधिकारी विष्णु घर्तीले आपसी समझदारीमा कुरा मिलेपछि काम सुरु गरिएको जानकारी दिए । (सौस)

प्रतिक्रिया