थ्री–स्टारको मोहन बगानमाथि जित

jagjeet-shresthaकाठमाडौं, १९ वैशाख । प्रेसिडेन्ट कप फुटबल प्रतियोगिताको तयारीमा थ्री–स्टार क्लबले बुधबार भएको मैत्रीपूर्ण खेलमा मोहन बगान क्लबलाई २–१ ले पराजित गर्‍यो । थ्री–स्टारका लागि जगजित श्रेष्ठ र फेमी जोसहवाले गोल गरे । सहिद स्मारक लिगपछि थ्री–स्टारमा आबद्ध भएका प्रकाश बुढाथोकी, जगजित श्रेष्ठ, सविन्द्र श्रेष्ठ र सरोज दाहाल सबैले मौका पाए भने सबैले राम्रो खेले । दुवै गोलमा जगजित नै नायक सावित भए । ५५औँ मिनेटमा प्रकाशको क्रसमा जगजितले सानदार गोल गरे । ६७औँ मिनेटमा जगजित र डुडोज मलेर बनाएको मुभमा फेमीले गोल गरे । मोहन बगानका दीपेन्दु विश्वासले इन्जुरी समयमा गोल गरे ।

विजय गुरुङ, नीराजन खड्का र विजय गुरुङ घाइते भए पनि यसले थ्री–स्टारलाई धक्का लागेन । जितसहित थ्री–स्टारले प्रेसिडेन्ट कप छनोटका लागि आत्मबल बटुलेको छ । त्यसो त थ्री–स्टारले पाँचौँ मिनेटमा नै अग्रताको अवसर पाएको थियो । प्रकाश बुढाथोकीको क्रसमा जगजितको प्रहार साइडबारमा लागेको थियो । सातौँ मिनेटमा नै फेमीको फ्रि हेड साइडबार माथिबाट बाहिरिएको थियो । पहिलो हाफमै अरिन्दमले जगजितले प्रहार गरेको फ्रिकिक बचाउँदै मोहन बगानको संकट टारे । यसैगरी, डुडोजलाई गोल गर्न रोक्दै निर्मल क्षेत्रीले एकपटक मोहन बगानको संकट टारे ।
मोहन बगानले ३६औँ मिनेटमा पहिलोपटक राम्रो मुभ बनाए पनि विष्णु सुनुवारले यसलाई टारे । थ्री–स्टारले दुवै फरवार्डलाई पछि प्रतिस्थापन गरेको थियो । डुडोजको स्थानमा टिनएजर फरवार्ड अनिल गुरुङ मैदान प्रवेश गराइए भने फेमीको स्थानमा विजय धिमाल मैदान प्रवेश गरे ।

प्रतिक्रिया