दुई बाकस सुनचाँदीले प्रहरीको टाउको दुखाइ

Boxविराटनगर, १९ वैशाख । मोरङको रंगेली–४ का महावीर अग्रवालको घरबाट बरामद गरिएका दुई करोड रुपियाँबराबरका दुई बाकस गरगहना के गर्ने भन्नेमा प्रहरी अन्योलमा परेको छ । उक्त गरगहना आफूहरूको भएको दाबीसहित फिर्ता गर्न माग गर्दै स्थानियवासी प्रहरी कार्यालय घेराउमा उत्रिएपछि इलाका प्रहरी कार्यालय रंगेलीलाई टाउको दुखाइको विषय बनेको छ ।

अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएका ती गरगहना आफूहरूको भएको भन्दै स्थानीय बासिन्दाले बुधबार प्रहरी कार्यालय घेराउ गरे । उनीहरूले ती गरगहना अग्रवालसँग ऋण लिँदा धितो राखेकाले फिर्ता दिन दबाब दिन थालेपछि प्रहरीलाई सुरक्षा गर्न हम्मेहम्मे परेको छ । दुई बाकसमा करिब एक क्विन्टल सुनचाँदीका गरगहना रहेको भन्दै झन्डै पाँच सय स्थानीयवासी प्रहरी कार्यालय घेराउ गर्न पुगेका थिए ।
अग्रवालले कुनै अवैध काम गरेर कमाएको नभई आफूहरूले ऋण लिँदा धितो राखेकाले गरगहना फिर्ता पाउनुपर्ने डायनिया–२ सिक्टीका मिनत आलम मियाले सौर्यलाई बताए । दुई वर्षअघि चाँदीको गहना धितो राखेर १७ हजार रुपियाँ ऋण लिएको उनले सुनाए । व्यक्तिगत कारोबारको भर्पाइ देखाउँदै उनले भने, ‘हामीले ऋण लगेवापत राखेको हाम्रा गहना फिर्ता हुनपर्छ ।’ टकुवाका राजेन्द्रप्रसाद यादवले पनि आफूले १५ हजार रुपियाँ ऋण लिन अग्रवालसँग चाँदीकै गहना धितो राखेको सुनाए ।
स्थानीयको दाबीसँगै सुनचाँदी फिर्ता गर्ने कि कारबाहीमा लैजाने भन्नेमा प्रहरी अन्योलमा परेको छ । गरगहना वैध कि अवैध भन्नेबारे सम्बन्धित निकायबाट प्रस्ट जवाफ नपाएकाले के गर्ने अन्योलमा परेको रंगेली इलाका प्रहरी प्रमुख प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले बताए । ‘यी गरगहना माग्न आएका स्थानीयवासीलाई दिने की अग्रवाललाई फिर्ता गर्ने या त कारबाहीका लागि कुनै निकायमा पठाउने भन्नेबारे अन्योलमा छौँ,’ प्रहरी निरीक्षक काफ्लेले भने, ‘हामीले यसका लागि आन्तरिक राजस्व कार्यालय, जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालयसमेतलाई सोधेका छौँ तर स्पष्ट जवाफ पाएका छैनौ ।’
अग्रवाललाई गरगहना राखेको विषयमा कारबाही गर्न कानुनी व्यवस्था नभएको प्रारम्भिक जवाफ जिल्ला सरकारी वकिलको कार्यालयले पठाएको काफ्लेले बताए । उनले भने, ‘आन्तरिक राजस्व कार्यालयले पनि कारोवारको कर तिरेको नतिरेको विषय मात्र आफ्नो क्षेत्राधिकारमा पर्ने बताएको छ ।’
अग्रवालका कान्छा छोरा अजयकी तेस्रो पत्नीले पारपारचुके गरी अंश पाउनका लागि प्रहरीमा निवेदन दिएपछि उनीहरूको घर पुगेको प्रहरी टोलीले आइतबार ती गरगहना बरामद गरेको थियो । यत्रो सम्पति चोरी र लुटपाट हुन सक्ने आशंकामा तत्काल उक्त गरगहना ल्याइएको प्रहरीले जनाएको छ । खेतीपाती र घरखर्चका लागि गहना धितो राखेर अग्रवालले रंगेली र आसपासका गाउँलेलाई ऋण दिने गरेका थिए । अग्रवालबाट ऋण लिनेको सख्या पाँच हजारको हाराहारीमा रहेको पाइएको प्रहरीले जनाएको छ ।

राजस्वद्वारा धितोका कागजात जफत
आन्तरिक राजस्व कार्यालय मोरडले बुधबार अग्रवालको घरबाट कारोबारका अभिलेखहरू जफत गरेको छ । अग्रवालले मोरङको दक्षिणी गाविसका करिब आधा दर्जन गाविसका बासिन्दालाई सुनचाँदीका गरगहना धितो लिई ऋण दिने गरेको ती अभिलेखबाट खुलेको छ । अग्रवालले व्यक्तिगत रूपमा कारोबार गरेको भर्पाइ गरी उनीहरूलाई ऋण उपलब्ध गराउने गरेका थिए ।
‘गरगहना के गर्ने भन्नेबारे बोल्ने क्षेत्राधिकार हाम्रो होइन,’ कर अधिकृत प्रकाश पौडेलले भने, ‘अग्रवालले धितो राखी आयआर्जन गर्ने गरेको सम्पतिबाट कर तिर्ने गरेको वा नगरेको मात्र आन्तरिक राजस्व कार्यालयको सरोकार विषय हो ।’
अग्रवालको घरबाट जफत कागजातका आधारमा कति कर तिरेको वा नतिरको अध्ययन गरेर निष्कर्षमा पुग्ने पौडेलले जानकारी दिए । ‘बरु कर छलेको देखिए त्यसका आधारमा कारबाही प्रक्रिया अगाडि बढाउन सकिन्छ’ उनले भने, ‘अहिले तत्काल ती बाकस के गर्ने, स्थानीयवासीलाई गरगहना फिर्ता दिने कि नदिने भनेर केही निर्णय गर्न सकिन्न ।’

प्रतिक्रिया