चीन र भारतमा प्रचण्डद्वारा परिवारको प्रतिनिधित्व : नेपाल

Madhav nepal1विराटनगर, १९ वैशाख । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन र भारत भ्रमण पारिवारिकमात्र भएको बताएका छन् । पत्नी सीताका साथमा प्रचण्डले गरेको विदेश भ्रमण नितान्त पारिवारिक भएको उनको दाबी छ । सम्पूर्ण मुलुकको प्रतिनिधित्व गर्दै चीन र भारतको भ्रमण गरेको भन्ने प्रचण्डको भनाइको खण्डन गर्दै नेता नेपालले भने, ‘उनकै पार्टीका नेतालाई समेत थाहा नभएको भ्रमणले देशको त के पार्टीको पनि प्रतिनिधित्व भएन ।’ बुधबार अन्तरराष्ट्रिय मजदुर दिवसका अवसरमा विराटनगरमा नेपाल ट्रेड युनियन महासंघ जिफन्ट र पेशागत महासंघले गरेको सभालाई सम्बोधन गर्दै नेता नेपालले चाकडी गर्न प्रचण्डले भ्रमण गरेको आरोप लगाए । उनले भने, ‘प्रचण्डको यो भ्रमण चाकडीका लागि भएको हो । आफ्नै र अन्य पार्टीसमेतलाई थाहा नदिइ गरिएको भ्रमणबाट देशको प्रतिनिधित्व हुन सक्दैन र यसबाट मुलुकको हित पनि हुँदैन ।’

विगतमा बिग्रिएको सम्बन्ध सुधारका लागि मात्र प्रचण्डले भारत र चीन भ्रमण गरेको नेपालले दाबी गरे । ‘उहिले तिम्राविरुद्ध सुरुङ युद्ध गर्छु भनेर चिढ्याएका थिए, अहिले म तिम्रो पाउमा पर्छु भनेर चाकडी गरी आएका छन्,’ उनले भने, ‘नेताले मुलुकको स्वाभिमान, आत्मसम्मान र सार्वभौमसत्तालाई दाउमा राखेर चाकडी गर्न पाउँदैन, यसको हिसाबकिताब जनताले खोज्नुपर्छ ।’ एकीकृत माओवादी नक्कली कम्युनिष्ट पार्टी भएको आरोप पनि उनले लगाए । कम्युनिष्ट पार्टीले वर्गीय उत्थानका निमित्त राजनीति गर्ने भए पनि एकीकृत माओवादीले उग्रजातिवादी कुरा गरेर नेपालीबीच वैमनस्यता कायम गरेकाले उ नक्कली कम्युनिष्ट पार्टी भएको दाबी गरे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले एमालले अगाडि सारेको राजनीतिक दर्शन र विचारकै आधारमा मुलुकको राजनीतिअगाडि बढिरहेको दाबी गर्दै एमाले राजनीतिक सिद्धान्त, दर्शन विचारका आधारमा अघिअघि र एमाओवादी पछिपछि हिँडिरहेको दाबी गरे । एमाले कहाँ छन् भन्ने प्रचण्डको भनाइप्रति इंगित गर्दै नेता नेपालले भने, ‘२००६ सालदेखि निरन्तर नेपाली राजनीति र नेपाली जनताका माझ एमाले छ, एमाले खोज्न हिन्द र प्रशान्त महासागर गइरहनुपर्दैन ।’ नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालले सुरु गरेको राजनीतिलाई एमालेले अघि बढाइरहेको चर्चा गर्दै उनले मनमोहन अधिकारी तथा मदन भण्डारीले उठाएको झण्डा बोकेर एमाले हिँडिरहेको बताए । ‘भर्खरै पलाएका कम्युनिष्ट पार्टीको हैसियत आगामी संविधानसभा निर्वाचनमा देखिनेछ,’ उनले भने ।
एमाओवादी विध्वंसकारी पार्टी भएको र यसले दूध दुहुने नाममा गाइको रगत चुस्ने गरेको आरोप लगाए । ‘अण्डा धेरै लिने नाममा कुखुरालाई नै मार्ने एकीकृत माओवादी जस्तो एमाले होइन,’ उनले भने । सबै दललाई चुनावमा सहभागी गराउने वातावरण सरकारले बनाउनुपर्ने पनि उनले बताए । सबै दलको सहभागिता हुने निर्वाचनले मात्र लोकतन्त्रको विकास गर्ने भन्दै उनले त्यसका लागि एमालले पहल गर्ने बताए ।
कार्यक्रममा एमालेका स्वर्गीय नेता मनमोहन अधिकारीका समकालीन नौ जना अग्रज मजदुर आन्दोलनका नेतालाई सम्मानसमेत गरिएको थियो । रघुनाथ गुप्ता, केवि कार्की, रामदास चौधरी, महेन्द्र चौधरी, कमल बुढाथोकी, छविलाल लम्साल, महेन्द्र बुढाथोकी, दिवंगत बमवहादुर खड्काकी श्रीमती शान्तिदेवी, र खगेन्द्र राईका भाइ दीपक राईलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया