मंसिरमा चुनाव हुन्छ भन्ने विश्वास रहेनछ : दाहाल

काठमाडौं, १८ वैशाख । चारदिने भारत भ्रमण सकेर मंगलबार फर्केका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मंसिरमा चुनाव हुनेमा भारत सशंकित रहेको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग दाहालले आफूले भारतीय पक्षलाई मंसिरमा चुनाव हुनेमा आश्वस्त पारेको दाबी गरे ।

‘मनमोहन सिंहले मंसिरमा चुनाव हुन्छ त भनेर सोध्नुभएको थियो,’ दाहालले भने, ‘मैले चुनाव हुन्छ भनेर आश्वस्त बनाएँ ।’ उनले नेपालको आर्थिक विकास र राजनीतिक स्थायित्वका लागि सहयोग गर्न सबै भेटघाटमा कुरा गरेको बताए । संविधानसभाको चुनावमा सहयोग गर्न भारतीय पक्षसँग आफूले कुरा राखेको र त्यसप्रति उनीहरू सकारात्मक रहेको दाहालले बताए । ‘संविधानसभा चुनावका लागि सहयोग गर्न मैले भारतीय राजनीतिक नेतृत्व र सरकारसँग कुरा राखेको थिएँ, उहाँहरू नेपालमा स्थायित्व र विकासका लागि संविधानसभाको चुनाव गर्नुपर्छ भन्नेमा हुनुहुन्छ,’ दाहालले भने ।
आºनो भारत भ्रमणले विश्वासको वातावरण सिर्जना गरेको दाबी दाहालको छ । उनले भ्रमण सफल रहेको बताए । दाहालले भारतीय प्रधानमन्त्री मनमोहन सिंहसमक्ष आफूले भारत र एमाओवादीबीचको सम्बन्ध र नेपाल–भारतबीचको सम्बन्धबारे कुरा गरेको बताए । पुराना कुरा बिर्सेर नयाँ शिराबाट सम्बन्ध विकसित गर्ने प्रस्ताव आफूले राखेको उनले बताए ।
त्यसमा भारतीय पक्ष सकारात्मक रहेको दाहालको दाबी छ । ‘नेपाल–भारत सम्बन्ध र हाम्रो पार्टी एमाओवादी र भारतबीचको सम्बन्धबारे कुरा गरेँ, पुराना केही कुरा बिर्सेर नयाँ शिराबाट सम्बन्ध विकसित गरौँ भन्ने मेरो प्रस्ताव थियो,’ दाहालले भने, ‘त्यसमा भारत सकारात्मक देखिएको छ ।’
चीन भ्रमण सकेलगत्तै एमाओवादी अध्यक्ष दाहाल चार दिनअघि भारत भ्रमण गएका थिए । चीन भ्रमणमा रहँदा नेपाल, भारत र चीन त्रिदेशीय विकास साझेदारीको प्रस्ताव गरेका दाहालले भारत भ्रमणमा पनि सोही प्रस्ताव राखेको तर भारतले द्विपक्षीय साझेदारी सुदृढ बनाएपछि मात्र त्रिदेशीय साझेदारीको कुरा अगाडि बढाउन सकिने जनाएको दाहालले बताए । ‘त्रिदेशीय विकास साझेदारीको मेरो प्रस्ताव नेपालको विकास रणनीतिका रूपमा मैले बुझाएँ,’ दाहालले भने, ‘पहिले द्विपक्षीय साझेदारीलाई सुदृढ र परिपक्व बनाएपछि त्रिदेशीय छलफल गर्न सकिन्छ भन्ने उहाँहरूको कुरा थियो ।’
दाहालले आºनो भारत भ्रमण मुलुकको आर्थिक एजेन्डामा र संविधानसभाको चुनावमा केन्द्रित भएको बताए । लुम्बिनीको विकास र ठूला जलविद्युत् आयोजनामा संयुक्त लगानी गर्ने प्रस्ताव राखेको र भारत त्यसप्रति सकारात्मक देखिएको उनले बताए ।
एमाओवादी अध्यक्ष दाहालले नेपालको संघीयतामा प्रदेशहरूको विभाजन गर्दा भाषा वा अन्य केही क्राइटेरियाका आधारमा गर्न भारतले सुझाव दिएको बताए । भारतमा पनि भाषाका आधारमा प्रदेश बनाउँदा मुलुक टुक्रिन्छ कि भन्ने शंका रहेको स्मरण गर्दै भारतीय प्रधानमन्त्री मनमोहन सिंहले यस्तो क्राइटेरिया बनाएर संघीयतामा गए उपयुक्त हुने सुझाव दिएको उनले बताए । शान्तिप्रक्रियामा एमाओवादीले खेलेको भूमिका र एमाओवादीको महाधिवेशनले लिएको आर्थिक सुधारको कार्यनीतिप्रति भारतले प्रशंसा गरेको पनि दाहालले बताए ।

प्रतिक्रिया