पौडेललाई सदस्यबाट हटाउन बहुउद्देश्यीय संघको विशेष साधारणसभा

काडमाडौं, १८ वैशाख । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले सञ्चालक समितिका सदस्य हीरामणि पौडेललाई हटाउन विशेष साधारण सभा बोलाएको छ । संघका सदस्य पौडेलले सहकारीको नाम जोडेर सिंगो आन्दोलनलाई राजनीतिमा मिसाएर बदनाम बनाउन खोजेको भन्दै हटाउन विशेष साधारणसभा बोलाइएको स्रोतले बतायो ।

संघको गरिमालाई समेत आँच आउने किसिमले राजनीतिक पार्टी घोषणा गरेको र यसमा संघको संलग्नता र समर्थन पनि नरहेको बताइएको छ । पौडेलले २९ चैत ०६९ मा ‘सहकारी पार्टी नेपाल’ नामक राजनीति दलको घोषणा गरेका थिए । सहकारीकर्मीहरूको भावना बमोजिम सहकारी पार्टी घोषणा गर्नुपर्नेमा केबल मनोगत र महत्त्वकांक्षी तवरबाट संघसँग छलफल नै नगरी एकलौटी रूपमा पार्टी घोषणा गरेकाले संघबाट हटाउन लागिएको स्रोतले जनाएको छ ।
अन्तर्राष्ट्रिय अनुभवलाई दृष्टिगत गरी नेपालको सहकारी आन्दोलनलाई थप सशक्त रूपमा अगाडि बढाउनका लागि नेपाली जनतालाई आर्थिक र सामाजिक रूपमा आमूल परिवर्तन गराई समृद्ध नेपाल निर्माण गर्न सहकारी पार्टीको अपरिहार्यता रहेको भए पनि संघ छलफल नै नगरिकन घोषणा गरेको संघको आरोप छ । सहकारी ऐनको दफा १८ को उपदफा १ बमोजिम परेको उजुरीका आधारमा पौडेललाई विशेष साधारणसभाबाट हटाउने प्रक्रियामा संघ लागेको छ । आगामी जेठ २ hiramani-paudelगते संघले विशेष साधारण सभा बोलाएको छ ।
‘संघको गरिमालाई समेत आँच आउने किसिमले काम गरेकाले विशेष साधारणसभाबाट हटाउन लागिएको हो ।’ संघका कोषाध्यक्ष माधव तिमिल्सिनाले भने– ‘संघमा राजनीतिकरण हुनबाट बचाउनु पर्छ ।’ सिंगो सहकारीमा राजनीतिक भएको हल्ला बाहिर आएको र सहकारीलाई राजनीति मुक्त बनाउनुपर्ने उनले बताए । संघले पौडेलसँग स्पष्टिकरणसमेत मागेको थियो ।
आफूले संविधान, ऐन, नियमअनुसार काम गरेको हीरामणि पौडेलले बताए । ‘संघबाट हटाउनुको उचित कारण आवश्यक पर्छ ।’ पौडेलले भने– ‘कुनै पनि सहकारी संघ/संस्थामा आवद्ध नेपाली नगारिकलाई नेपालको अन्तरिम संविधान–०६३ ले प्रदान गरेको मौलिक हकबाट वञ्चित गर्न मिल्दैन ।’ नेपालको सहकारी आन्दोलनलाई टेवा पुर्‍याउन सहकारी पार्टी तयार छ । ‘लोकतान्त्रिक प्रक्रियाअनुसार संघले चालेको कदममा सहमत छु ।’ उनले भने– ‘त्यस विरद्ध भए कानुनी बाटो अपनाउन तयार छु ।’ पौडेल, स्याङ्जा जिल्ला नगरपालिका–४ बिचारी चौतारीमा सञ्चालित बिचारी बहु उद्देश्यीय सहकारीका अध्यक्ष हुन् । यसै संस्थाबाट उनले संघमा प्रतिनिधित्व गरेको थियो ।
के भन्छ्न पौडेल

नेपालको सहकारी आन्दोलनलाई टेवा पुर्‍याउने, नेपालको गरिबी अन्त्य गर्ने, आर्थिक सामाजिक विकास हासिल गर्ने, सम्बृद्ध नेपाल निर्माण गर्ने, लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्ने, नेपालमा शान्ति र राजनीतिक स्थिरता कायम गर्ने लक्ष्यले सहकारी पार्टी नेपालको स्थापना भएको हो । उक्त पार्टी केन्द्रीय भेलाले मलाई तदर्थ समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
सहकारी पार्टी नेपालको अन्तरिम संविधानअनुसार गठन गरिएकोले संविधानले प्रदान गरेको अधिकारसँग बाझिने गरी कोही कसैले कारबाहीको हल्ला गर्नुसमेत संविधान र कानुनको उल्लंघन गर्नु हो । आफ्ना कार्यक्रमहरू नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको निर्णय स्वीकृतिमा सञ्चालन गर्नुपर्ने नेपालको कुनै कानुनमा व्यवस्था छैन ।कुनै पनि सहकारी संघ/संस्थामा आवद्ध नेपाली नगारिकहरूलाई नेपालको अन्तरिम संविधान–०६३ ले प्रदान गरेको मौलिक हकबाट वञ्चित गर्न मिल्दैन । सहकारी संघ/संस्थाहरूका सदस्यहरू कुन राजनीतिक दलमा आवद्ध हुने वा कुन राजनीतिक पार्टी गठित गर्ने भन्ने कुरा संविधानले दिएको अधिकारअनुसार सोही सदस्यमा निहित रहेको हुन्छ । कुनै वैधानिक दलमा सदस्य हुँदा विनियम उल्लंघन गरिएको हुने कहीँ कतै उल्लेख नगरिएको समेत स्पष्ट गर्दछु । संघको अहित हुने कुनै काम नगरेको स्पष्ट गर्दछु ।

प्रतिक्रिया