अवैध विद्यालय बन्द गर्न निर्देशन

राजविराज, १७ वैशाख । कानुनी राज्यको खिल्ली उडाउँदै गैरकानुनी रूपमा सञ्चालित सप्तरीका पाँच निजी विद्यालय तत्काल बन्द गर्न जिल्ला प्रशासन कार्यालयले जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिएको छ । प्रशासनले सोमबार पत्रमार्फत विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।

पत्रमा जिल्लाको ट्राफिक बजार शम्भुनाथस्थित स्वर्णिम विद्या मन्दिर, रूपनीस्थित गोदावरी बोर्डिङ स्कुल, मा भगवती बोर्डिङ स्कुल, कठौनास्थित भिजन बोर्डिङ स्कुल र लिटिल एन्जल बोर्डिङ स्कुल तत्काल बन्द गर्न निर्देशन दिइएको छ । स्थानीय केही व्यक्ति तथा बोर्डिङ स्कुल सञ्चालकले अनुमति विना विद्यालय सञ्चालनमा रहेको जनाउँदै यसविरुद्ध उजुरी परेपछि बन्द गर्न निर्देशन दिइएको प्रशासनले जनाएको छ । ‘गैरकानुनी रूपमा सञ्चालनमा रहेको भन्दै पाँचवटा विद्यालयका नाममा उजुरी परेको छ,’ सिडिओ कार्यालयका शाखा अधिकृत विष्णुरञ्जन बरालले भने, ‘दर्ता विना सञ्चालन भएका विद्यालय बन्द गर्न निर्देशन दिएका छौँ ।’
बन्द गर्न निर्देशन दिइएका विद्यालयविरुद्ध गत वर्ष ८ चैतमा उजुरी परेको जानकारी दिँदै त्यस मध्येमा कक्षा ८ सम्म सञ्चालित मा भगवती बोर्डिङ स्कुलले मात्र २ कक्षाको अनुमति लिएको शाखा अधिकृत बरालले बताए । नर्सरीदेखि कक्षा ५ र ६ सम्म सञ्चालनमा रहेका अन्य सबै विद्यालयले नर्सरीको समेत अनुमति नलिएको निवेदनलाई उल्लेख गर्दै बरालले बताए ।
यसअघि प्याब्सन र एनप्याब्सनले समेत संयुक्त प्रेस विज्ञप्ति प्रकासित गरी गैरकानुनी रूपमा सञ्चालनमा रहेका बोर्डिङ स्कुल बन्द गर्न माग गरेका थिए । विज्ञप्तिमा सदरमुकाम राजविराजलगायत जिल्लाका विभिन्न स्थानमा करिब ६० वटा गैरकानुनी बोर्डिङ स्कुल सञ्चालनमा रहेको जानकारी दिँदै ती विद्यालयले विद्यार्थी र अभिभावलाई ठग्ने तथा विद्यार्थीको भविष्यमाथि नै खेलवाड गरेको भन्दै बन्द गर्न चेतावनी दिइएको थियो ।

प्रतिक्रिया