लोकमानको अख्तियार प्रमुख बन्ने बाटो खुल्यो

Lokmanshin-Karkiकाठमाडौं, १७ वैशाख । सर्वोच्च अदालतले पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउने बाटो खोलिदिएको छ । यसअघि आपैँmले गरेको अन्तरिम आदेश सर्वोच्चले सोमबार खारेज गरेको छ ।

प्रमुख दलका शीर्ष नेताहरू रहेको उच्चस्तरीय राजनीतिक समितिले कार्कीलाई अख्तियारको प्रमुख आयुक्तमा नियुक्त गर्न सिफारिस गरेपछि त्यसलाई रोक्न सर्वोच्चमा रिट परेको थियो । गत ९ चैतमा न्यायाधीश सुशीला कार्कीको एकल इजलासले कार्कीलाई अख्तियार प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।
सोमबार न्यायाधीश गिरीशचन्द्र लाल र तर्कराज भट्टको संयुक्त इजलासले यसअघिको अन्तरिम आदेश खारेज गरेको हो । अख्तियारको प्रमुख संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने भएकाले सिफारिस नै नगरिएको अवस्थामा अपरिपक्व विषयमा रिट आएको भन्दै सर्वोच्चले अन्तरिम आदेश खारेज गरेको हो ।
सिफारिस नै नगरिएको अवस्थामा संवैधानिक परिषद्को अधिकार क्षेत्रमा हस्तक्षेप गर्न नहुने सर्वोच्चको ठहर छ । ‘अपरिपक्व अवस्थामा आएको रिटमा कुनै व्यक्तिको योग्यता र अयोग्यता सम्बन्धमा विचार प्रकट गर्न वा संवैधानिक परिषद्लाई संविधान प्रदत्त जिम्मेवारी एवं निर्धारित कर्तव्यमा यस अदालतबाट हस्तक्षेप गर्न उपयुक्त नहुनाले निवेदनमा माग गरेबमोजिम तत्काल अन्तरिम आदेश जारी गरिरहन नपरी यस अदालतबाट मिति २०६९/१२/९ मा भएको अन्तरिम आदेशको निरन्तरता दिइरहनुपरेन,’ सर्वोच्चको आदेशमा उल्लेख छ ।
उच्चस्तरीय राजनीतिक समितिले कार्कीको नाम प्रस्ताव गरेपछि अधिवक्ता ओमप्रकाश अर्यालले अख्तियारको प्रमुखमा नियुक्ति हुनका लागि कार्की योग्य नभएको जिकिर गर्दै त्यसलाई रोक्न सर्वोच्चमा रिट हालेका थिए । ०६२/६३ को जनआन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित रायमाझी आयोगले दोषी ठहर गरेकाले कार्कीलाई अख्तियारको प्रमुखमा नियुक्ति गर्न नहुने जिकिर उनले रिटमा गरेका थिए ।

प्रतिक्रिया