एमालेमा ११ केन्द्रीय सदस्य मनोनीत

काठमाडौं, १७ वैशाख । एमालेले ११ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । सोमबार बसेको स्थायी समिति बैठकले पार्टी त्यागेका, कारबाहीमा परेका र मृत्यु भएका कारण खाली रहेका ९ र विधानत: मनोनीत गर्नुपर्ने ५ प्रतिशत कोटामा दुई जनालाई मनोनीत गरेको हो ।

सोमबारको बैठकले संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङ, पार्टी संगठन विभागका सचिव ज्ञानबहादुर भुजेल, पाँचथरका पूर्वजिल्ला अध्यक्ष गणेश काङवाङ, भोजपुरका पूर्वअध्यक्ष शेरधन राई, अनेरास्ववियु पूर्वअध्यक्ष राजेन्द्र राई, बागमती अञ्चल सचिव शेरबहादुर तामाङ, उपत्यका सचिव सानु श्रेष्ठ, कर्णाली अञ्चल सचिव चन्द्रबहादुर शाही, महोत्तरीका रामदयाल मण्डल, तनहुँका एकबहादुर राना र चितवनका केशवलाल श्रेष्ठलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो ।
नेम्वाङ र भुजेल ५ प्रतिशत कोटामा मनोनीत गरिएका हुन् भने ९ जना पार्टी त्यागेका, कारबाहीमा परेका र मृत्यु भएका कारण खाली भएका ठाउँमा नियुक्त गरिएका हुन् । उपाध्यक्ष अशोक राईसहित केही जनजाति नेताले पार्टी त्यागेर नयाँ पार्टी गठन गरेको, पोलिटब्युरो सदस्य रामचन्द्र झा एमाओवादीमा प्रवेश गरेको, रवीन्द्र श्रेष्ठमाथि पार्टी कारबाही भएको तथा डिल्लीबहादुर महतको निधन भएपछि उनीहरूको ठाउँ खाली थियो ।
नियुक्त सबै नामलाई केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्नेछ । विधानत: १ सय ६ सदस्यीय केन्द्रीय कमिटीको ५ प्रतिशत अर्थात् ६ जनालाई मनोनीत गरिनेछ । विगतमा पार्टी छोडेका नेता तथा कार्यकर्तालाई पार्टीमा फर्काउने र अन्य कम्युनिस्ट समूहसँग एकता गर्ने प्रयास पनि अघि बढेकाले त्यसको अन्तिम टुंगो नलागेसम्म ५ प्रतिशतअन्तर्गत बाँकी चार सदस्य तत्काल मनोनयन नगर्ने नीति एमालेले बनाएको छ । पार्टीका पुराना नेता/कार्यकर्तालाई पार्टीमै फर्काउन तथा कम्युनिस्ट पार्टीहरूसँग एकता गर्न एमालेले समिति गठन गरेर अभियान चलाएको छ ।
यसअघि आइतबार बसेको स्थायी समिति बैठकमा मनोनीत गर्ने नामका बारेमा विवाद भएपछि बैठक विनानिष्कर्ष सकिएको थियो । आइतबार पनि पार्टी त्याग, कारबाही र मृत्युका कारण खाली रहेका ९ स्थानका लागि १४ जना भन्दा बढीको नाम आएको थियो । केहीबेर बैठकमा नामबारे विवाद भएको स्रोतले जनाएको छ ।
स्थायी समितिलाई मनोनयनको प्रस्ताव तयार गरी पेस गर्न यसअघि पोलिटब्युरो बैठकले म्यान्डेट दिएको थियो । यसअघिको पोलिटब्युरो बैठकले चुनावी रणनीति तय गरी तीनमहिने संगठन सुदृढीकरण अभियान चलाउने निर्णय गरेको थियो । केन्द्रीय सदस्य मनोनयनको खाका तयार गर्ने जिम्मेवारी स्थायी समितिलाई दिइएको थियो ।
स्थायी समितिले जुन जाति र क्षेत्रबाट पार्टी त्याग गरिएको हो सोही जाति र स्थानबाट मनोनयन गर्ने ‘क्राइटेरिया’ तय गरेको थियो । ‘जुन जातिकाले पार्टी छाडेका हुन् त्यही जाति र जुन भूगोल हो त्यही भूगोलबाट ल्याउनुपर्छ भन्ने सहमति भएको थियो,’ बैठकपछि उपाध्यक्ष वामदेव गौतमले भने ।

प्रतिक्रिया