पत्रकार आक्रमणप्रति महासंघद्वारा भत्र्सना

काठमाडौं : नेपाल पत्रकार महासंघले महासंघका सभासद् तथा राजधानी दैनिकका समाचार सम्पादक गणेश बस्नेतको ‘हत्या प्रयास’ भएको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।
बस्नेत चढेको मोटरसाइकललाई शनिबार राति बा ८ च ४७०६ नम्बरको गाडीले पिछा गरी ठक्कर दिएर ज्यान लिन खोजेको भन्दै महासंघले आइतबार विज्ञिप्तिमार्फत दोषीहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको हो । महासंघले पत्रकारको पेसागत सुरक्षाप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।
विज्ञप्तिअनुसार ललितपुरको कुपन्डोलस्थित कार्यालयबाट काम सकाएर घर फर्कंदै गर्दा थापाथली चोकमा बस्नेत चढेको बा १० प ४०६८ नम्बरको मोटरसाइकललाई रातो प्लेटको गाडीले एक्कासि पिछा गरेर आक्रमणको प्रयास गरेको थियो । मोटरसाइकलको पछाडि अर्का राजधानीकर्मी भीम राई रहेका कारण तेस्रोपटक ठोक्काउने क्रममा मोटरसाइकल पेटीमाथि चढाएर बाँच्न सफल भएको बस्नेतले जानकारी गराएको विज्ञप्तिमा उल्लेख छ ।
बस्नेतमाथिको आक्रमण प्रयासको प्रेस चौतारी नेपालले पनि भत्र्सना गरेको छ । चौतारीका केन्द्रीय सल्लाहकारसमेत रहेका बस्नेतले घटनाबारे तुरुन्तै प्रहरीलाई खबर गरे पनि दोषी पत्ता लाग्न नसकेको उल्लेख गर्दै चौतारीले दोषी पत्ता लगाई कारबाही गर्न माग गरेको छ । महासंघको राजधानी शाखा र दोलखाली पत्रकार समाजले पनि बस्नेत आक्रमणको भत्र्सना गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ । (सौस)

प्रतिक्रिया