दोलखामा मच्छिन्द्रनाथको रथ तानिँदै

दोलखा, १६ वैशाख । देशमा खडेरी नपरोस्, देश र जनतामा कुनै विपत्ति नपरोस् भन्ने कामनासहित दोलखा जिल्लाको ऐतिहासिक सहर दोलखामा यस वर्षको मच्छिन्द्रनाथको रथ तान्ने जात्रा सुरु भएको छ । अभयपुरको नाममा कुनै बेला छुट्टै राज्यको अस्तित्व बोकेको दोलखा सहरमा परम्परागत रूपमा मनाइँदै आएको मच्छिन्द्रनाथको रथयात्रा चैत पूणिर्माको दिन मच्छिन्द्रको मूर्तिलाई दूधले नुहाएपछि सुरु भएको मानिन्छ ।

बिहीबार मच्छिन्द्रको मूर्तिलाई दूधले नुहाएर जात्रा सुरु भएको हो । शुक्रबार मच्छिन्द्रको मूर्तिलाई रथारोहण गरी शनिबारदेखि रथ तान्न सुरु गरिएको छ । परम्पराअनुसार देशमा खडेरी नपरोस्, अनिकाल नपरोस्, देश र जनतालाई कुनै विपत्ति नपरोस् भन्ने कामना गर्दै आर्याबलोकेश्वर अथवा लोकेश्वर करुणामयको आराधनास्वरूप रथलाई एक सातासम्म सहरको विभिन्न भागको परिक्रमा गराउने प्रचलन छ ।
मल्लकालीन राजा जयवसुदेवले प्रचलनमा ल्याएको मानिने सो जात्रा नेपाल संवत् ७०१ बाट सुरु भएको स्वर्णपत्रमा अंकित एउटा आलेखमा उल्लेख छ । पहिला नौ तलामा महँगो सजावटका साथ निर्माण गरी तानिने रथ हिजोआज कालिञ्चोक युवा क्लबको पहलमा मात्र चार तला निर्माण गरी तान्ने गरिएको छ । चैत पूर्णिमाका दिन करुणामय मच्छिन्द्रनाथको सुनको मूतिलाई दूधले स्नान गराइन्छ । यसलाई स्थानीय भाषामा ‘हपा’ गरेको भनिन्छ । ‘हपा’ गर्ने दिन स्थानीय महिलाहरू ब्रत बस्ने गर्दछन् । पूणिर्माको तेस्रो दिनदेखि विभिन्न सात टोलमा बाजागाजासहित रथ तानेर पुर्‍याउने चलन छ । रथलाई पहिलो दिन नकछेँ टोल, दोस्रो दिन कोर्छे टोल, तेस्रो दिनदेखि सातौँ दिनसम्म क्रमश: टसिचा, माथिल्लो टोल, दुंगल, पिंगल, डोकलुङगा टोल हुँदै आठौँ दिन पुन: नकछेँ टोलमा पुर्‍याई एक वर्षका लागि जात्रा सम्पन्न गरिन्छ ।
रथ तान्ने क्रममा प्रत्येक टोलमा छुट्टाछुट्टै गुठियारद्वारा रथमा पूजाआजा गरेपछि साँझ रथलाई तानेर अर्को टोलमा पुर्‍याइन्छ । अशक्त तथा रोगी भक्तजनले समेत घरमै बसी दर्शन गर्न पाऊन् भनी रथलाई टोलटोलमा परिक्रमा गराएको स्थानीय बासिन्दाहरू बताउँछन् । टोलमा रथ तानेर ल्याएको दिन आफन्तलाई भोज खुवाउने गरिन्छ ।
बीचमा १६ वर्ष बन्द भएर २०५५ सालदेखि जात्रा लगातार चल्दै आएको छ । जिल्लाको उतरी क्षेत्रस्थित लापिलाङ गाउँवासीलाई जग्गा उपलब्ध गराएर गुठीको व्यवस्था गरी त्यसबाट प्राप्त आयबाट रथयात्राको चलन आरम्भ भएको प्रमाण पाइन्छ । गुठीबापत प्राप्त हुनुपर्ने रकम तथा वस्तु प्राप्त नभएका कारण ०५५ सालअघि १६ वर्षसम्म जात्रा चल्न सकेको थिएन । स्थानीय कालिञ्चोक युवा क्लबको पहलमा ०५५ सालदेखि जात्रा निरन्तर रूपमा पुन: चल्दै आएको छ ।
बस्ती विस्तारले साँघुरिँदै गएको बाटो र बिजुलीका तारका कारण रथ तान्न कठिनाइ हुने गरेको छ । चैते पूणिर्माका दिन मच्छिन्द्रनाथलाई दूधले नुहाएपछि शनिबार बेलुका मूर्तिलाई रथारोहण गरिन्छ र त्यसको भोलिपल्टदेखि साताभर रथलाई बजार परिक्रमा गराइन्छ ।
वि.सं. १५७५ देखि राजा नन्ददेवले सुरु गरेको जात्रा अहिले भने कालिञ्चोक युवा क्लबले गर्दै आएको छ । रथ तान्ने जात्रा निरन्तर गर्न करिब वि.सं १६५० ताका राजा वासुदेवले विभिन्न स्थानमा गुठी स्थापना गरी आयस्थाको बन्दोबस्त गरेका थिए । अहिले त्यो स्रोत गुम्दै गएपछि जात्रा चलाउन कठिन भएको स्थानीय टीकानारायण प्रधान बताउँछन् । पिंगलबाट सुरु भएको रथयात्रा नक्छे, श्यामसुन्दर, कोर्छे, टाँसिचा, माथिल्लो, दुंगल टोलहरूमा बास राखी पुन: पिंगलमा आएपछि जात्रा विसर्जन गराइन्छ । स्रोत अभाव र बस्ती विस्तारले रथ तान्न कठिन हुन थालेपछि ०३९ देखि ०५३ सालसम्म रथयात्र रोकिएको थियो । ‘त्यतिबेला करिब १४ वर्षसम्म खट बनाएर भए पनि देवतालाई तोकिएको टोलमा घुमाउने गरियो,’ स्थानीय भगवान दासले भनेँ ।
मच्छिन्द्रको रथ तान्ने जात्रा दोलखाबाट सुरु भई काठमाडौं लगिएको दोलखा संस्कृतिका अध्येता शान्तकृष्ण श्रेष्ठको दाबी छ । केटाकेटीदेखि वृद्धासमेत भेला भई रथलाई तान्ने चलन छ । रथ तान्ने क्रममा व्यवधान आउन नदिन रथमा एकजना बसेर निर्देशित गर्छन् । बाटामा रहेका बिजुलीका तार हटाउन प्राधिकरणबाट खटिएर आएका कर्मचारी सक्रिय हुन्छन् । प्राचीन महत्त्वको छापिएका ढुंगा उप्किएर खाल्डाखुल्डी परेका ठाउँमा टालटुल गर्दै रथ अघि बढाउनुपर्छ । ठाडै उकालो पर्ने टाँसिचाको रास्नीमा भने रथ तान्न निकै कठिन पर्ने गुठियार विष्ण्ुाबहादुर श्रेष्ठले बताए । यो स्थानमा रथ बिग्रिने भय पनि हुन्छ ।
ने.सं. ८२२ ताका पाटनका शाक्य पुर्खाले दोलखाको मच्छिन्द्रनाथमा माला चढाएको ताम्रपत्रमा उल्लेख पाइएकाले उक्त स्थानका शाक्य प्रत्येक वर्ष जात्रामा दर्शनका लागि आउने गरेका छन् । साताभर सञ्चालन गर्ने भनिए पनि बेलाबेलामा बाटैमा बिग्रिएको रथ मर्मत गरी निर्धारित स्थानमा पुर्‍याउन महिनौँ लाग्न सक्छ । कुनैकुनै वर्ष रथमा समस्या आउनसक्ने यो जात्राको व्यवस्थापन गर्दै आएको कालिञ्चोक युवा क्लबले जनाएको छ । करुणा, लोककल्याणकारी र सहकालको देवता भएकाले स्थानीय महिलाहरू दिनभर निराहार व्रत बस्ने गर्छन् । व्रतालुहरू साँझ रथ तान्न थालेपछि पूजापाठ गरेर खाना खाने गर्छन् ।

प्रतिक्रिया