मत-विमत

डँढेलो र डँढेलाहरू

सौर्य अनलाइन २०७० वैशाख १४ गते २३:४४ मा प्रकाशित

Madhab-sayapatri‘आगलागी भएमा वा डँढेलो लागेमा वारुणयन्त्र वा प्रहरी प्रशासनमा तुरुन्त खबर गर्नु होला ।’ सञ्चरमाध्यमबाट प्रसारित सरकारी सूचना हो यो । सरकारले नेपालका सबै भू–भागलाई काठमाडौं, विरगञ्ज वा विराटनगर सहरजस्तो देखेको छ । के राज्यलाई थाहा छैन देशको भौगोलिक बनावट कस्तो छ ? पहाडी भू–भागको अनकन्टार जंगलमा आगो लागेको सूचना पाए पनि त्यस्तो ठाउँमा दमकल जान्छ ? प्रहरी प्रशासन त्यहाँ पुग्न कति दिन लाग्छ ? पुगिहाले पनि के नै गर्न सक्छ र † सुरक्षाकर्मी त्यहाँ पुग्दा जंगल सखाप भैसकेको हुन्छ । केही वर्षअघि ब्यारेक छेउको जंगलमा लागेको आगो निभाउने क्रममा रामेछाप ब्यारेकका १३ जना सैनिकले जलेर मर्नुपरेको थियो । वनमा आगो लागिसकेपछि निभाउने सम्भावना कमै रहन्छ । सुरुमै भेटियो भने सम्भव होला, आगो चारैतिर फैलिइसकेपछि त्यो सम्भव हुँदैन । चैतदेखि जेठ महिनासम्म पानी नपर्ने र जमिन अति सुख्खा हुने भएकाले वनमा डँढेलो अत्यधिक लाग्छ अर्थात् लगाइन्छ । अपवादबाहेक डँढेलो आपैँm लाग्दैन । वनमा आगो वन्यजन्तुले लगाउँदैन, मानिसले नै लगाउँछ । सरकारले सूचनामार्फत जनतालाई सचेत गराउनु राम्रो कुरा हो, र उसको दायित्व पनि हो । ‘तँ खबर गर्, म दमकल पठाइदिन्छु ।’ भन्नुचाहिँ बहुलठ्ठी कुरा हो । हो, सहरीक्षेत्रमा आगो लाग्दा र छिट्टै दमकल पुग्नसक्ने सडक छेउछाउको जंगलमा त्यो सम्भव हुन्छ । र, भएको पनि छ । तर, पहाडी भू–भागमा यो कुरा ‘लासामा सुन छ, मेरो कान बुच्चै’ वा ‘मरेको बाउलाई हरियो काँक्रो’ भनेजस्तो हुन्छ । अहिले नेपालमा धेरै वन क्षेत्रमा डँढेलो लागिरहेको छ वा लागिसकेको छ । नेपालको कुल वन क्षेत्र १९ लाख ६५ हजार ३ सय ७१ हेक्टरमध्ये बर्सेनी ६० देखि ७० प्रतिशत वनक्षेत्रमा डँढेलो लाग्ने गरेको अनुमान गरिएको छ । तर, वर्षैपिच्छे वनमा यसरी डँढेलो लाग्दा पनि सरोकारवालाहरूले खासै रोकथामको प्रयास गरेको पाइँदैन ।

सरकारले जनताले आफ्नो वन आपैँmले संरक्षण, सम्वर्धन र सदुपयोग गरून् भनेर अधिकांश वन क्षेत्र समुदायलाई जिम्मा दिन थालेको पनि २२/२५ वर्ष नाघिसकेको छ । पछिल्लो तथ्यांकअनुसार देशभर १७ हजार ६ सय ८५ वन क्षेत्र समुदायलाई हस्तान्तरण गरिसकेको छ । समुदायलाई वन हस्तान्तरण गरेपछि खासै चासो नदेखाएको देख्दा सरकार वन संरक्षण गर्नबाट पन्छिएको जस्तो देखिएको छ । स्वायत्त अधिकारसहित वन आफ्नो अधीनमा आए पनि उपभोत्ताले राम्रोसँग संरक्षण गर्न नसकेकै देखिन्छ । सामुदायिक वनका पदाधिकारीहरूले पनि खासै चासो देखाएका छैनन् । उनीहरूलाई काठ बेचेर पैसा कुम्ल्याउन पाए पुग्यो । उपभोक्ताले वनको आम्दानीको हिसाब पनि नखोज्ने, सरकारले पनि वास्ता नगर्ने भएपछि सामुदायिक वनहरूमा थोरै व्यक्तिहरूको मनोमानी चलिरहेको छ । सामुदायिक वनहरूमा ‘राजा देख्दैन, देउता बोल्दैन ।’ भन्ने उखान चरितार्थ भएको छ । ‘हरियो वन नेपालको धन’ कहावत अब उहिलेका कुरा भइसकेको छ । आफूलाई तात्तातै गाँठ प्राप्त हुने भएपछि ‘नेपालको धन’ को के मतलव रह्यो र † डँढेलो रोकथाम र वन संरक्षणको कुरा त परकै कुरा भयो । डँढेलो रोकथामका उपायहरू पनि छन् । पहिलो कुरा जनतालाई वनप्रति अपनत्वको भाव जगाउन सक्नुपर्‍यो । वनमा डँढेलो लाग्दा जंगल मात्र सखाप हुँदैन, त्यहाँ बसेका वन्यजन्तुहरू पनि सकिन्छन् । ती वन्यजन्तु हाम्रा अमूल्य सम्पत्ति हुन् । यो धरती सबै जीवजन्तुको साझा घर हो । सबैले आफ्नो वासस्थानमा सुरक्षितसाथ बस्न र बाँच्न पाउनुपर्छ । एकचोटि डँढेलो लागेर सखाप भएको वन फेरि पुन: उही अवस्थामा आउन ५ वर्षभन्दा बढी लाग्छ । त्यसले हाम्रो दैनिक जीवनमा नै असर पार्छ । यस्ता सामान्य कुरा वनउपभोत्ताहरूले बुझ्नुपर्छ । कुनै बटुवा वनको बाटो हिँड्दा पतकरमा चिप्लिएर लड्यो भने उसले रिसको झोकमा आगो लगाइदिन्छ । कसैले सल्किएकै चुरोटको ठुटो पतकरमा फालिदिन्छन् । त्यत्तिले वनमा डँढेलो लाग्न काफी हुन्छ । वनका उपभोक्ताहरूले पहिल्यै बाटोको पतकर सोहोरिदिने र ठाउँठाउँमा अग्निरेखा बनाइदिने हो भने वनमा डँढेलो लाग्न ५० प्रतिशत रोकथाम हुन्छ । डँढेलो लगाएपछि पतकर बल्छ र मल हुन्छ । पानी पर्नासाथ घाँसका नयाँ पिपिरा पलाउँछ । बाख्रावस्तु चराउन सजिलो हुन्छ भनेर उपभोत्ताहरू आपैँm लुकीलुकी डँढेलो लगाइदिन्छन् । वन छेउको आफ्नो जग्गामा झिक्रा पोल्दा वनतिर आगो जानसक्छ भन्ने पनि सोच्दैनन् ।
डँढेलो लगाउने मानिस हत्तपत्ति पत्तो लगाउन सकिँदैन । लागिहाले पनि ऊ कुनै न कुनै वन पदाधिकारीको आफ्नो मान्छे वा पार्टीको मान्छे छ भने उसलाई कार्बाही गरिँदैन । एउटालाई अपराध गर्न छुट दिँदा अर्कोलाई अपराध गर्न प्रोत्साहन मिल्छ । वन विनास प्रकृतिजन्य कारणले भन्दा मानवजन्य क्रियाकलापले बढी भएको छ । भूक्षय, बाढी, हुरीबतासजस्ता प्राकृतिक प्रकोपबाट हुने वन विनासलाई सामान्यतया रोक्न सकिँदैन । तर, मानिसले गर्ने वन विनासलाई निरुत्साहित गर्न वा रोक्न सकिन्छ । वनसम्पदा सम्पूर्ण जीवजीवात्मालाई प्रकृतिले दिएको अमूल्य उपहार मात्र नभएर सम्पत्ति पनि हो । अरू जीवभन्दा मानिसले नै वनको बढी प्रयोग गर्छ । मानव समुदायका लागि वन बहुआयामिक प्रकृतिको छ । घरपालुवा जनवारका लागि स्याउला, पतकरदेखि भव्य महल निर्माण गर्दा पनि वनकै उपज नभई हुँदैन । वनले जीवनजगत्लाई नै सन्तुलित बनाइराख्छ । रूखबाट अक्सिजन लिने र कार्वनडाइअक्साइड दिने कुरा त सानासाना भाइबहिनीहरूलाई पनि थाहा छ । कुरा यत्ति हो, वनसम्पदाविना मानिसको दैनिक क्रियाकलाप चल्नसक्दैन । कुरा नबुझेको होइन, सबैले बुझेका छन् । बुझपचाएका मात्र हुन् । मानिसको कुत्सित स्वार्थका कारण नेपालमा वन विनासको क्रम बढ्दो छ । उपभोग गर्ने तर सदुपयोग नगर्ने हाम्रो वस्तु र बजारमुखी सोचले बढ्ता काम गरिरहेको छ । वातावरणीय सन्तुलन कायम राख्नका लागि ४० चालीस प्रतिशत भूमिमा वनक्षेत्र हुनुपर्छ । नेपालमा भएको ३९ प्रतिशत वनक्षेत्र पनि अवैध काठ कटानी, वन अतिक्रमण र आगलागीको कारणले उजाड बन्दै गएको छ । मानिस नै यस्तो स्वार्थी जीव हो उसले अर्काको स्वार्थ एवंले वनको वैज्ञानिक व्यवस्थापन, सहरीक्षेत्रमा वृक्षारोपण, २० वर्षे रणनीतिजस्ता कार्यक्रम ल्याए पनि वनसम्बद्ध उच्चपदस्थ कर्मचारीले नै त्यसलाई धोती लगाइदिएका छन् । वन कर्मचारी पनि कमाउने धन्दामा लागेका छन् । उनीहरू नै काठ तस्करीमा मुछिनु यसको उदाहरण हो । ती तस्कररूपी भयंकर डँढेलाहरू हुन् । आगोको डँढेलो सबैले देख्ने गरी लाग्छ तर तस्कररूपी डँढेलो हत्तपत्ति देखिँदैन । तिनले धमिराभैँm भित्रभित्रै पसेर वन धुल्याइसकेका हुन्छन् । यी डँढेला र धमिराहरू चिनेर आफ्नो वन आपैँmले जोगाउनु हामी वन उपभोत्ताहरूको प्रमुख दायित्व हो । वन हाम्रो मात्र होइन । हामीपछिका पुस्ताको पनि हो । स्वच्छ र सन्तुलित वातावरणमा बाँच्न पाउने हाम्रा सन्ततिको अधिकारलाई हामी अहिल्यै नखोसौँ । फरकफरक डँढेलाहरूबाट वनलाई जोगाऔँ ।
[email protected]

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय