दाहालको विदेश भ्रमण सत्ता कब्जामा केन्द्रित : खनाल

JNललितपुर, १५ वैशाख । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको विदेश भ्रमण सत्ता कब्जाको नीतिमा केन्द्रित रहेको आरोप लगाएका छन् । वैशाख पहिलो साता चीन भ्रमणबाट फर्केका दाहाल शनिबार भारत भ्रमणमा निस्केपछि खनालले यस्तो टिप्पणी गरेका हुन् । विदेश नीति दलीय सहमतिमा तय हुनुपर्ने उल्लेख गर्दै खनालले पार्टी र व्यक्तिगत फाइदाका लागि विदेश भ्रमणलाई प्रचारबाजी गरिएको बताए ।

‘अन्य देशसँग कस्तो व्यवहार अपनाउने भन्ने कुरा राजनीतिक दलहरूबीच सहमतिमा निर्धारण भएपछि मुलुकको साझा दृष्टिकोण तयार हुन्छ र त्यहीअनुसार मित्रराष्ट्रसँग कुरा गर्नुपर्छ,’ उनले भने, ‘सत्तामा पुग्न र सत्ता कब्जाका लागि कुनै नेताको विदेश भ्रमण हुनुहुँदैन, प्रचण्डको विदेश भ्रमण सत्ता कब्जा कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रित छ ।’
उनले उच्चस्तरीय राजनीतिक समितिको परामर्शविना वर्तमान सरकार एक दिन पनि चल्न नसक्ने धारणा पनि व्यक्त गरे । कृषि अभियान कृषि सहकारी संस्थाले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले सरकार दलहरूको नियमित परामर्शबाटै चलेको स्पष्ट पारेका हुन् । खनालले उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा गठित संस्थाको प्रारम्भिक साधारणसभा उद्घाटनका क्रममा खनालले यस्तो धारणा राखेका हुन् । उनले अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन प्रक्रियाप्रति असन्तुष्ट भइ आन्दोलनरत दललाई चुनावमा सहभागी हुन फेरि आग्रह गरे । अब बन्ने संविधानमार्फत मुलुकमा आर्थिक क्रान्तिमा जोड दिनुपर्ने उल्लेख गर्दै उनले त्यसका लागि सहकारी आन्दोलन उचाइमा पुर्‍याउनुपर्ने बताए । उपाध्यक्ष गौतमले सहकारीको माध्यमबाट कृषिको व्यवसायीकरण, औद्योगिककरण गरिने र रोजगारी सिर्जना गरि समाजवाद ग्यारेन्टी गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया