चुनावको मिति तोक्न सरकार छलफलमा

काठमाडौ, १४  वैशाख । सरकार गठन भएको डेढ महिनापछि अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले चुनावको मिति तोक्न औपचारिक छलफल सुरु गरेका छन् । शुक्रबारदेखि उनले पछि सार्न नपर्ने गरि चुनावको मिति तोक्न आन्तरिक परामर्श थालेका हुन् । 

अध्यक्ष रेग्मीले शुक्रबार चुनावको मिति घोषणाबारे निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका छन् । कात्तिक अन्तिम साता या मंसिर पहिलो साताभित्र गर्नेगरी सरकारले चुनावको मिति तोक्ने र त्यसअनुरूप काम अगाडि बढाउन उनले आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन् ।
‘कात्तिकमै निर्वाचन गराउने गरी सरकारले पहल सुरु गरेको छ, त्यसका लागि तपाईंहरू तयार हुनुहोस्,’ आयोगका पदाधिकारीसित रेग्मीले भनेको उद्धृत गर्दै स्रोतले भन्यो । आयोगका पदाधिकारीले पनि कात्तिक अन्तिम साता या मंसिर पहिलो साता चुनावको मिति तोक्दा फरक नपर्ने सुझाव दिएको स्रोतले जनाएको छ ।
सरकार गठन भएको डेढ महिनासम्म चुनावको मिति तय गर्न नसकेको भन्दै रेग्मी सरकारको आलोचना भइरहेका बेला आयोगका पदाधिकारीहरूसित छलफल भएको हो । रेग्मी निर्वाचन ऐन संशोधनका लागि अध्यादेश पठाउनेबारे पनि आयोग पदाधिकारीसित छलफल गरेका थिए । थ्रेस होल्ड राख्ने या नराख्ने, संविधानसभाका सदस्य संख्या कति हुनेलगायत विषयमा छलफल भएको स्रोतले बतायो ।
संविधानसभाको निर्वाचनमा सहभागी नहुने जनाउ दिएका दलहरूसँग संवाद गर्न र उनीहरूलाई निर्वाचनमा ल्याउन अब छिट्टै राजनीतिक दलका नेताहरूले छलफल गर्ने पनि उनले आयोगका पदाधिकारीलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया