बराल हराएको सूचना

Yam-Sangeetकेही महिनाअघि डा. ऋषिराज बरालका दुई किताब एकैचोटि प्रकाशित भए । एकजना साथीले उत्साही हुँदै सुनाउनुभयो, ‘बरालको किताब आयो नि †’ मलाई खुसी लाग्यो । म पनि उसरी नै उत्साही भएँ र दुवै किताब तुरुन्तै लिएँ, तुरुन्तै पढेँ । ती किताबमाथिको समीक्षा लेख्नेबारे मैले धेरै दिनसम्म सोचेँ पनि । तर, मलाई यी दुई किताबले मात्रै अहिलेको बजारशाही समयमा बरालको पुग्दो प्रतिनिधित्व गरेको जस्तो लागेन । केही वर्षयता मलाई भित्रैदेखि बिझाइरहेको थियो– ऋषिराज बरालहरू यो सहरमा किन गुमनाम भइरहेका छन् ? जनयुद्धले निर्माण गरेको नयाँ संस्कृति मर्दै गइहरको बेला नयाँ संस्कृतिका अभियन्ताहरूको जीवन कता भौँतारिइरहेको छ ? मुलुकको सांस्कृतिक पर्यावरण बिथोलिइरहेको बेला बरालहरूको जुधारु चेतना कता गायब भएको छ ? किताबको समीक्षाभन्दा मलाई बराल हराएको सूचना सार्वजनिक गर्नु आफ्नो कर्तव्य हो भन्ने लाग्यो । र, त भनिरहेछु– पाठकवृन्द, यो सुन्नुस् बराल हराएको सूचना †
coaverऋषिराज बराल एउटा झोँकी मान्छेको नाम हो । यो लेखको शीर्षक देख्दैमा उनलाई झोँक चलिसके होला । उनलाई लागे होला– ‘म कहाँ हराएको छु ? क्रान्तिकारी आन्दोलन पो यतिखेर अलपत्र परेको छ । म क्रान्तिकै मूलबाटोमा हिँडिरहेको छु ।’ तर, यो पंक्तिकारलाई भने फेरि पनि भन्न मन लागेको छ– बरालको उपस्थिति कतै देखिँदैन † जनयुद्धभरि बरु उनको उपस्थिति बाक्लो थियो सहरमा । उनी आइरहन्थे सिर्जनाका किताबमा, आलोचनाका किताबमा र पत्रपत्रिकाका सांस्कृतिक लेखरचनाहरूमा । चाहिएको बेला चाहिएकै ठाउँमा नभेटिए पनि उनी गुमनाम थिएनन् । जब माओवादी आन्दोलनले जनयुद्धको बाटो छाडेर नयाँ घुम्ती हान्यो, तब बराल बिस्तारै–बिस्तारै गायब हुन थाले । उनको झोँक कुन चोकतिर छ यतिखेर ?
कुनैबेलाको ‘क्रान्तिकारी’ पार्टी र ‘क्रान्तिकारी’ नेताहरू अहिले ‘नवसंशोधनवादी’ भइसकेपछि सौन्दर्यचिन्तक कमरेड चैतन्यको नेतृत्वमा बरालसहितका संस्कृतिकर्मीहरूले पनि पार्टीबाट सम्बन्धविच्छेद गरे । र, कवि पदम गौतमका शब्दमा बराल नेकपा ‘अल्टर जिरो एक सय पचास’ माओवादीमा छन् । तर, यतिखेरको सांस्कृतिक परिदृश्यमा उनको हस्तक्षेपकारी उपस्थिति कतै देखिन्न । उनका पाठकहरूले अत्तोपत्तो पाइरहेका छैनन्– साँच्चै कहाँ छन् हँ यी खरो स्वभावका माओवादी आलोचक ?
डाबर कम्पनी टोलटोल र गल्लीगल्लीमा पसेर सुन्दरी प्रतियोगिताका लागि हाम्रा दिदीबहिनीको उचाइ नापिरहेको छ । एनसेल कम्पनीले साहित्यको मानदण्ड तोक्दै हिँडिरहेको छ । सरकारलाई तिर्नुपर्ने करतिर कर्के आँखा लगाउँदै उसले केही जोकरहरूलाई ‘महान् साहित्यकार’ घोषणा गरिरहेछ । ‘क्रान्तिकारी’ कार्यकर्ताहरू हात जोड्न त्यतै पुगेका छन् र आन्दोलनतिर धारे हात लगाइरहेका छन् । रंगीबिरंगी बहुराष्ट्रिय कम्पनीहरू झ्याल फोडेर घरभित्रै पसेका छन् । उत्तरआधुनिकतावादीको चकचकी बढिरहेकै छ । साहित्य जगत्मा नेपाली साहित्य–संस्कृतिको वस्तुगत यथार्थलाई ढाकछोप गरिएको छ र जनयुद्धको संस्कृति र साहित्यलाई विद्रुपीकरण गरिएको छ । पचास र साठीको सक्रिय दशकको न्यूनीकरण गर्न ‘समकालीन’ साहित्यका नाममा अहिले पनि तीसको दशकको चर्चा भइरहेको छ । हरेक विषय र लेखनमा ‘उत्तर’ उपसर्ग जोड्ने सरुवा रोगले प्रगतिवादी शिविर पनि ग्रस्त भइसकेको छ । यस्तो बेला ऋषिराज बराल कुन क्रान्तिकारी कर्ममा व्यस्त भएका होलान् ? उनको रूपान्तरणकारी सांस्कृतिक चेतना कता बेपत्ता भएको होला ?
‘अल्टर जिरो एक सय पचास’ माओवादीमा सांस्कृतिक विभाग छ, त्यहाँ बराल भएको कुनै सूचना छैन । अखिल नेपाल जनसांस्कृतिक महासंघ छ, त्यसमा पनि बराल उहिल्यैदेखि बाहिर छन् । इच्छुक सांस्कृतिक प्रतिष्ठानमा केही समय उपाध्यक्ष भएर झुल्केका थिए, अचानकै त्यहाँबाट पनि उनी गायब भए । नयाँ वर्षको दोस्रो दिन भारतीय नवमाक्र्सवादी/अम्बेडकरवादी समालोचक मैनेजेर पाण्डेयलाई बोलाएर इच्छुक प्रतिष्ठानले ‘अन्तर्राष्ट्रिय’ गोष्ठी आयोजना गर्‍यो, तर त्यहाँ पनि बरालको सुइँकोसम्म पाइएन । बरालका बारेमा कमरेड किरणलाई नै सोध्नुपर्ने हो कि– बराल कमरेड आफैँ बरालिएका हुन् कि अरू कुनै वैद्य–वुटीले काम गरेको हो ?
भर्खरै जनआन्दोलन सफल भएको र जनयुद्धको राप–ताप धपक्कै बलेको बेला एकेडेमीमा (२०६३ सालमा) भएको एउटा संगोष्ठी म अहिले पनि सम्झिरहेको छु । बरालको कार्यपत्रमाथि आफूलाई उत्तरआधुनिकतावादको नेपाली उत्तराधिकारी सम्झने गोविन्दराज भट्टराईको टिप्पणी र त्यसमाथि बरालको प्रतिरक्षा साँच्चैको सम्झनलायक छ । बरालको जवाफ सुन्नै नसकेर भट्टराई सभाहलबाट भागेका थिए । अनि बरालले भनेका थिए, ‘उहाँ बौद्धिक हुनुहुन्छ भन्ने मेरो भ्रम टुट्यो, छलफलबाटै यसरी भाग्नुहुन्छ भन्ने मलाई लागेको थिएन ।’ त्यसयता नेपाली राजनीतिलाई उत्तरआधुनिकतावादीहरूले नै झन्झन् डोर्‍याएका छन्, माक्र्सवादीहरू पनि उत्तरआधुनिकतावादी हुँदै गइरहेका छन् । साहित्यमा उत्तरआधुनिकतावादीहरूकै चुरीफुरी बढ्दो छ, संस्कृतिमा उत्तरआधुनिकतावादीहरूकै हो–हल्ला छ, पत्रपत्रिकाहरूमा पनि बहुराष्ट्रिय कम्पनीहरूको हालीमुहाली छ । तर, उत्तरआधुनिकतावादीहरू नै भाग्ने गरी बरालको प्रतिवाद कतै देखिँदैन । बरालका हालै दुई पुस्तक एकैचोटि बजारमा त आइपुगेका छन्– ‘सलाम रोल्पा’ र ‘आजको साम्राज्यवाद र माओवादी आन्दोलन’ । तर, मलाई अनुभूति भइरहेछ– बराल किन कतै देखिँदैनन् ?
नेपाली वाम–सांस्कृतिक आन्दोलनमा समालोचनाका क्षेत्रमा प्रतिरोधी संस्कृतिका बिम्ब बनिसकेका केही नाम छन् । तीमध्येकै एउटा मौलिक विशेषतासहितको नाम हो ऋषिराज बराल । बराल र बरालहरू हराउनु दु:खको कुरा हो । यो नेपाली वाम–सांस्कृतिक आन्दोलनकै चिन्ताको विषय हो । केही दिनअघि मार्टिन चौतारीसम्बद्ध एकजना साथीले सुस्तरी मसँग सोधेका थिए, ‘बरालसँग उनको लेखनबारे मार्टिन चौतारीमा छलफल गर्नुपर्‍यो, के गर्ने होला ? बूढा अहिले कता के गर्दै छन् ?’ मैले बरालको मोबाइल नम्बर दिँदै भनेको थिएँ, ‘खोज्नुस्, तिनलाई सार्वजनिक गर्नुपर्ने छ ।’
मार्टिन चौतारीले फेला पार्ला कि ऋषिराज बराललाई ?

प्रतिक्रिया