विनाअनुमति सञ्चालित विद्यालयमाथि कारबाही सुरु

धनगढी : जिल्ला शिक्षा कार्यालयले कैलालीमा अनुमतिविना सञ्चालनमा आएका निजी विद्यालयमाथि कारबाही प्रक्रिया अघि बढाएको छ । जिल्लाका विभिन्न स्थानमा सञ्चालित निजी विद्यालयबारे जनगुनासो आउने क्रम बढेपछि जिल्ला शिक्षा कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको हो ।
जिल्लामा रहेका १६ वटा स्रोत केन्द्रमध्ये पाँच केन्द्रमा ५१ निजी विद्यालय गैरकानुनी रूपमा सञ्चालनमा रहेको पाइएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्ला शिक्षा कार्यालयमा अहिलेसम्मको रेकर्डअनुसार खैरीफाँटा स्रोत केन्द्रमा ८, चुहामा १९, भजनीमा ८, फुलबारीमा ६ र लिक्मा स्रोत केन्द्रमा १० निजी विद्यालय अनुमतिविनै सञ्चालन भइरहेको छ ।
कार्यालयका अनुसार ११ स्रोतकेन्द्रको रेकर्ड आउन अझै बाँकी छ । सबै स्रोत केन्द्रको रेकर्ड आएपछि कारबाही प्रक्रिया सुरु गरिने विद्यालय निरीक्षक देबबहादुर चन्दले जानकारी दिए । श्रीपुर, गेटा, मालाखेती, कोल्तडी, किम्तोला, हसुलिया, सुखड, टीकापुर, बौनिया, बडिगाउँ र धनगढी स्रोतकेन्द्रको रेकर्ड आउन बाँकी रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
प्याब्सन, एनप्याब्सनलगायत संगठनले अनुमतिविना सञ्चालनमा रहेका विद्यालयलाई कारबाही प्रक्रियामा सहयोग गर्ने जनाएका छन् । जिल्लाभर तथ्यांक संकलन कार्य अन्तिम चरणमा पुगेको जिल्ला शिक्षा कार्यालय कैलालीका प्रमुख भीमबहादुर साउदले बताए । उनकाअनुसार अनुमतिविनै सञ्चालनमा रहेका विद्यालयलाई पहिलो चरणमा पत्रचार गरी बन्द गर्न सूचना, दोस्रो चरणमा बन्द भए नभएको अनुगमन गर्ने अटेर गरी सञ्चालन गर्नेलाई नियमावली व्यवस्थाअनुसार कारबाही गर्ने जानकारी दिए । शिक्षा कार्यालयका अनुसार जिल्लाभर एक सयभन्दा बढी विद्यालय अनुमतिविना नै सञ्चालनमा रहेको आशंका गरिएको छ । (सौस)

प्रतिक्रिया