‘एमाले छैन भनेको होइन’

prachandaसल्यान, १३  वैशाख । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूले नेपालमा एमाले पार्टी छैन भन्ने अभिव्यक्ति नदिएको बताएका छन् । एमाले काग्रेससँग मिलेर चुनावमा जाने भएपछि कम्युनिस्ट सिद्धान्त नरहने मात्र आफूले भनेको दाहालको दाबी छ ।

‘मैले त एमालेले काग्रेससँग मिलेर चुनाव लडेमा सिद्धान्तत: एमाले कम्युनिस्ट रहने छैन भनेको हो,’ सल्यानको वाफुखोलामा बिहीबार आयोजित सभालाई सम्बोधन गर्दै दाहालले भने, ‘मेरो भनाइको आसय एमाले छैन भन्ने हैन ।’ उनले आफूले नभनेको कुरालाई सञ्चारमाध्यमले गलत प्रचार गरेको आरोपसमेत लगाए ।
भारत भ्रमणमा आर्थिक मुद्दा उठाइने
दाहालले आफ्नो भारत भ्रमणका क्रममा नेपालको आर्थिक विकासका लागि छलफल चलाउने जानकारी पनि दिए । आर्थिक विकासका लागि भारतले सहयोग नगरे उसको सुरक्षा चिन्तामा सहयोग गर्न नसकिने उनको भनाइ थियो । हालै चीन भ्रमण सकेर फर्किएका उनी भारत भ्रमणमा जान लागेका छन् । दाहालको शनिबारदेखि मंगलबारसम्मको चारदिने भारत भ्रमणको कार्यतालिका तय भएको सञ्चारमाध्यमले जनाएका छन् ।
बिहीबारको सभामा एमाओवादीका अर्का नेता जनार्दन शर्माले महाधिवेशनको कार्यनीति जनतासामु पुगे पार्टीप्रतिको भ्रम चिरिने दाबी गरेका थिए । जनयुद्धका बेलामा सल्यान, रुकुम र रोल्पाको महत्त्वपूर्ण भूमिका रहेको भए पनि पार्टीको शान्ति प्रक्रियामा आएपछि यस क्षेत्रमा ध्यान पुग्न नसकेको उनको भनाइ थियो ।

प्रतिक्रिया