एमाओवादी–मधेसी गठबन्धन टुट्ने संकेत

वीरगन्ज, १३ वैशाख । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले एकीकृत माओवादीसँगको गठबन्धन टुट्ने संकेत गरेका छन् । संविधानसभा चुनावमा गठबन्धनका लागि मधेसी दलहरू सहमत भए एकीकृत माओवादीसँगको गठबन्धन जारी नरहने ठाकुरको भनाइ छ ।

वीरगन्जमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले चुनावी गठबन्धनका लागि मधेसका सबै दलसँग छलफल भइरहेको जानकारी दिए । फोरम नेपाल, फोरम लोकतान्त्रिक, संघीय सद्भावना र तराई मधेस अभियानका संयोजक जेपी गुप्तासँग गठबन्धनका लागि छलफल भइरहेको उनले उल्लेख गरे ।
उनले अब चुनावको विकल्प नभएको उल्लेख गर्दै जसरी भए पनि चुनावलाई सफल बनाउन लाग्नुपर्ने धारणा पनि व्यक्त गरे । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलाई उच्चस्तरीय राजनीतिक समितिमा बसी चुनावलाई सफल बनाउनका लागि सहयोग गर्न उनले आग्रह गरे । आफूहरू संघीयता र समावेशीको पक्षमा भएकाले यही नै चुनावको मूल मुद्दा हुने जानकारी दिँदै उनले मंसिरमा चुनाव हुनेमा शंका नगर्न अनुरोध गरे ।

प्रतिक्रिया