मण्डला थिएटरमा दर्शकको घुइँचो

IMG_6744-(1)काठमाडौं : चलचित्रको पर्दामा भएको भए सायद नाटक‘डिग्री माइला’ ले ५१ दिनको लक्ष पूरा गरेको थियो । खचाखच दर्शकले भरिने मण्डला थिएटरमा दर्शकहरूकै चापका कारणले नाटक डिग्री माइलालाई मञ्चन गर्ने समय पटक–पटक थप्नुपरेको थियो । अभिनेता दयाहाङ राईद्वारा निर्देशित उक्त नाटकले नाटकीय ढंगबाट एक किसिमको लुट नै मच्चाएको थियो । र, अहिलेसम्म मञ्चन भएका नाटकमध्ये मण्डाला थिएटरमा सबैभन्दा बढी चलेको नाटक पनि डिग्री माइला नै थियो । चलचित्र लुटबाट प्रवेश गरेका अभिनेता राई चलचित्रमै व्यास्त भए पनि नाटकलाई पनि निरन्तरता दिइरहेका छन् । त्यस्तै, अभिनेता राईद्वारा नै निर्देशित अर्को नाटक घुंग्रिएको कपाल मण्डाला थिएटरमा वौशाख ४ गतेदेखि सुरु भएको छ । 

नाटकीय ढंगबाट अगाडि बढेको नाटक ‘घुंग्रिएको कपाल’ले पनि छोटो समयमै दर्शकको हाँसो, आँसु र तारिफ पाएको छ । करिब ५५ मिनेट लामो नाटक हेर्दा दर्शकहरूले कहीँकतै हाई काढ्नुपर्ने ठाउँ छैन । नाटकका निर्देशक राईका अनुसार यस नाटकलाई मण्डाला थिएटरले काठमाडौंलगायत देशका करिब १५ स्थानमा मञ्चन गरिसकेको थियो । बालबालिकाका लागि लक्षित गरेर निर्माण गरिएको यो नाटक दिनदिनै अन्य वर्गहरूबाट पनि रुचाइएको यस नाटकका निर्देशक राईले बताए । नाटक हेर्न मण्डला थिएटरमा अहिले पनि दर्शक खचाखच रहेको देख्न सकिन्छ ।
नाटक एक बुद्धिमानी मुन्दुमी चरित्रको जीवनसँग गाँसिएको छ । नाटकमा पूर्वी नेपालको पहाडी भेगमा बसोबास गर्ने किराती समुदायमा प्रचलित मुन्दुमी कथालाई उतारिएको छ । मानिसहरू एक्लै जन्मिन्छन् तर बाँच्ने क्रममा मानिसले प्रकृतिबाट धेरै कुरा सिक्न सकिने कुरा नाटकमा प्रस्तुत गरिएको छ । हेच्छाकुप्पाको दर्शनले मान्छेलाई बाँचुन्जेल सिक्न उत्सुक प्राणीका रूपमा चित्रण रहेको छ । नाटकमा दुईजना दिदीबहिनी र उनीहरूको एक प्यारो भाइलाई उतारिएको छ । गरिब र अभिभावक नभएका कारण एकआपसमा प्रेमपूर्वक तीन पात्रहरूले काटिरहेका दिनचर्यालाई नाटकमा उतारिएको छ । सोही क्रममा झेल्नुपरेका समस्या र त्यसबाट पार पाउन उनीहरूले गरेको यात्राक्रमलाई नाटकमा समावेश गरिएको छ ।
नाटकका पात्र बुद्धि –भाइ (राजन खतिवडा), तायामा –ठुली दिदी (सिर्जना सुब्बा), खियामा –सानी दिदी (सिर्जना अधिकारी) र हांग्रायो –बूढो व्यापारी (बुद्धि तामाङ) को प्रस्तुति नाटकीय लाग्दैन । नाटकको बीचबीचमा आउने भँवरा, बाघ, पुतली, बाजलाई नाटकमा राम्ररी प्रस्तुत गरिएको छ । सेवा गरे मेवा मिल्छ भन्ने उखानलाई पनि नाटकमा उतार्न खोजिएको छ ।
नाटक घुंग्रिएको कपाललाई आख्यानकार तथा ‘दमिनी भिर’ उपन्यासका लेखक राजन मुकारुङले लेखेका हुन् । कविता लेखनबाट साहित्यिक यात्रा सुरु गरेका मुकारुङ आख्यानमा अगाडि मानिन्छन् । त्यस कारणले आख्यानकार मुकारुङको यो नाटकलेखन पहिलो उपस्थिति हो । (एजेन्सी)

प्रतिक्रिया