एमबिबिएसका ७२ प्रतिशत विद्यार्थी फेल

काठमाडौँ, १३ वैशाख । डाक्टर बन्न त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गतका मेडिकल कलेजमा एमबिबिएस पढिरहेका ७२ प्रतिशत विद्यार्थी फेल भएका छन् । 

संस्थानले आइतबार सार्वजनिक गरेको एमबिबिएसमा ७२ प्रतिशतसम्म फेल भएका छन् । पाँच वर्षे एमबिबिएस कोर्षको सबै परीक्षा उत्तीर्ण गरेपछि पास भएका विद्यार्थीले नेपाल मेडिकल कलेजको लाइसेन्सिङ परीक्षा दिनुपर्ने हुन्छ । त्यसमा उत्तीर्ण भएपछि मात्रै आधिकारिक डाक्टर हुन्छन् ।
सन् २००८ मा भर्ना भएका विद्यार्थीहरूको अन्तिम नतिजामा पास हुनेभन्दा फेल हुने विद्यार्थीको संख्या धेरै छ । यो नतिजाले मानविकी, व्यवस्थापन र शिक्षा शास्त्र संकायका तुलनामा धेरै पास हुने छवि बनाएको चिकित्सा शास्त्र संकायको साखमा समेत असर परेको संस्थानका पदाधिकारीहरूले बताए ।
त्रिविका अन्य संकायहरूमा हरेक वर्ष ८० प्रतिशतको हाराहारीमा विद्यार्थी फेल हुने र प्राविधिक शंकायहरू चिकित्साशास्त्र, इन्जिनियरिङ, वन विज्ञान, कृषि जस्ता संंकायमा ६० प्रतिशतभन्दा बढी विद्यार्थी पास हुने गरेका छन् । चिकित्सा शास्त्रअन्तर्गतको मेडिसिनमा प्रमाणपत्र तहमा ८० प्रतिशतभन्दा माथि, स्नातकमा ९० प्रतिशतको हाराहारीमा र स्नातकोत्तर तहमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरेका थिए । तर, यसपटकको नतिजा भने निकै निराशाजनक भएको संस्थानका सहायक डिन डा.शरद वन्तले बताए ।
संस्थानको सम्बन्धन लिएर सन् २००८ मा चारवटा कलेज सञ्चालनमा आएका थिए । ती कलेजमध्ये सबैभन्दा बढी जनकपुरमा रहेको जानकी मेडिकल कलेजका डाक्टरी विद्यार्थी फेल भएका छन् । पाँच वर्षे एमबिबिएस कोर्षको परीक्षाको अन्तिम नतिजामा कलेजमा अध्ययनरत ७२ प्रतिशत विद्यार्थी फेल भएका छन् ।
जानकी मेडिकल कलेजका एक सय विद्यार्थीमध्ये २८ जना मात्रै पास भएका छन् । जानकी पछि कमजोर नतिजा निकाल्ने युनिभर्सल मेडिकल कलेज हो । सो कलेजका ७० प्रतिशत विद्यार्थी फेल भएका छन् । भैरहवामा रहेको युनिभर्सल कलेजका १ सय ५० विद्यार्थी मध्ये जम्मा ४४ जना मात्रै पास भएका छन् ।
कमजोर नतिजा आउने अर्को वीरगन्जस्थित नेसनल मेडिकल कलेज हो । नेसनलका ६० प्रतिशत विद्यार्थी फेल भएका छन् । नेसनल मेडिकल कलेजका १ सय ५० विद्यार्थी मध्ये ६० जना मात्रै पास भएका छन् । संस्थानको
प्रांगणमा सञ्चालनमा रहेको चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जको नतिजा भने अरूको तुलनामा राम्रो देखिन्छ । महाराजगञ्जका २४ प्रतिशत विद्यार्थी मात्रै फेल भएका छन् । चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जका ६० विद्यार्थी मध्ये ४६ जना पास भएका छन् ।
चिकित्सा शास्त्र विषयमा अध्ययन गर्ने विद्यार्थीको अनुत्तीर्ण दर त्रिविमा मात्र नभई काठमाडौं विश्वविद्यालयमा पनि विस्तारै बढ्दै गएको केही समयअघि सार्वजनिक भएको एमबिबिएस प्रथम वर्षको नतिजाले देखाएको थियो । काठमाडौं विश्वविद्यालयको दुई महिनाअघि सार्वजनिक पहिलो वर्षको नतिजामा सबैभन्दा बढी राजधानीको जोरपाटीस्थित नेपाल मेडिकल कलेजका विद्यार्थी फेल भएका थिए ।
सो कलेजबाट १ सय ५० जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा १ सय ७ जना फेल भएका थिए । त्यस्तै विराटनगरस्थित नोबल मेडिकल कलेजबाट परीक्षा दिएका एक सय ५० मध्ये ४८, पाल्पाको लुम्बिनी मेडिकल कलेजका सय विद्यार्थीमध्ये ६९, काठमाडौं मेडिकल कलेजका ६९, कलेज अफ मेडिकल साइन्सेस भरतपुरका ४१ , मणिपाल मेडिकल कलेजका ४३, नेपालगन्ज मेडिकल कलेजका ८३ र केयुका ११ जना विद्यार्थी फेल भएका थिए ।

प्रतिक्रिया