अभिनय गर्ने जाँगर मरेर आएथ्यो

Subas_thapaयस्तै सायद ०५५–५६ तिर होला । त्यतिबेला म थिएटरमा काम गर्थेँ । त्यही समय अभिनयकै लागि राष्ट्रिय नाचघरमा ट्रेनिङसमेत लिन थालेको थिएँ । ट्रेनिङ र अभिनयमा मेरा दिन बित्दै थिए । यो समय आफूले गरेका कति अभिनय आफूलाई नै चित्त बुझ्दैनथ्यो । आफ्नो अभिनयमा के नपुगेको जस्तो महसुस भइरहन्थ्यो । त्यसैले अभिनयमा आफूलाई खार्ने विचारले प्रशिक्षणका लागि गुरुकुलमा भर्ना भएँ । त्यो समय गुरुकुल भर्खर मात्र सुरु भएकाले त्यति भिड थिएन । सँगै भर्ना भएका सौगात मल्ल, सरिता गिरी, भोलाराज सापकोटा, राजन खाती लगायतसँग मित्रता भयो । मलाई थाहा भएसम्म गुरुकुलको पहिलो ब्याचका विद्यार्थी हामी नै हौँ ।
करिब डेढ वर्ष गुरुकुलमा प्रशिक्षण लिएँ । प्रशिक्षणकै क्रममा नाचघरमा हुने नाटकमा समेत सहभागिता जनाउन भ्याउँथेँ । नाटक अभिनयकै क्रममा मेरो नाग थिएटरकी सबिना लेवनसँग चिनजान भयो । उहाँसँगको चिनचानले मलाई विभिन्न थिएटरमा काम गर्ने अवसर मिल्यो । तिनै अवसर अहिले पनि सदुपयोग गर्दै छु ।
अहिले ठ्यक्कै याद आएन मलाई, नाग थिएटरमा काम गर्ने क्रममा संसारकै दोस्रो ठूलो नाटक महोत्सव, जुन अस्ट्रेलियामा भएको थियो, मा भाग लिन पाएँ । त्यसपछि राइनो अफ बर्दिया नाटक लिएर स्पेन गएँ । यीलगायत अन्य कयौँ नाटकका कारणले दर्जन देश घुमेँ । भारत त कति चोटि कति चोटि ।
०६४ तिर होला, शुभतारा स्कुलमा नाटककै टिचरका रूपमा कार्यरत थिएँ । त्यतिबेला चलचित्र ‘कागबेनी’ र ‘सानो संसार’ लगायत चलचित्र नयाँ ट्ेरन्डमा निर्माण हुँदै थिए । चलचित्रमा अभिनय गर्ने मेरो सानैदेखिको सोखले गर्दा नाटक अभिनयमै छँदा चलचित्रका विषयमा जानकारी सबै राख्थे । कस्ता चलचित्र बन्दै छन्, को नयाँ कलाकार आए र को गए, कुन निर्देशकको चलचित्र राम्रो आदि–इत्यादि सबै । सानो संसार र कागबेनी चलचित्रबाट नयाँ ट्रेन्ड भित्रिन लागेकाले ममा पनि अभिनयका लागि लालच पलाउँदै गयो । अभिनयमा कसरी प्रवेश गर्न सकिन्छ, यही माध्यमको खोजीमा मैले ध्यान दिन थालेँ । बुझ्दै जाने क्रममा प्रशान्त रसाइलीले ‘क्रसरोड’ चलचित्रका लागि अडिसन लिएको थाहा पाएँ । एकप्रति फोटो बोकेर अडिसनमा म पनि सहभागी भएँ । त्यसपछि चलचित्र सानो संसारमा खेल्न पाइन्छ कि भनेर क्वेस्ट इन्टरटेन्मेन्टको अफिसमा गएँ । आफ्नो फोटो छोडेँ । फोटो छाडेको केही समय बित्न नपाउँदै क्वेस्टबाट फोन आयो । फोनमा ‘एउटा रोल छ, गर्ने भए अफिस आउनु’ भनियो । अवसरको खोजीमा रहेको म तुरुन्तै भेट्न गएँ । तर, त्यहाँ भेटेपछि घरबाट निस्कँदाको मेरो उत्साह सबै हरायो । घरबाट निस्कँदा म राम्रो रोलको कल्पना गरेर गएको थिएँ । त्यहाँ त मलाई सानो, त्यो पनि दुईटा मात्र डाइलग भएको, रोलका लागि अप्रोच गरियो ।
ठूलै रोल होला भन्ने सोच्दै गएको मैले सानै भए पनि अभिनय गर्ने विचारले गरेँ । अभिनयका लागि पाँच जोर ड्रेस बुझाएँ । सानै भए पनि विशेष बनाउँछु भन्ने सोच ममा थियो । त्यसैले चलचित्र युनिटसँग आफ्नो रोलको स्क्रिप्ट मागेँ । तर, मलाई स्क्रिप्ट दिइएन । भनियो– एक्स्ट्रा रोल गर्नेलाई स्क्रिप्ट दिने चलन छैन । यो कुराले मेरो मनै भाँचियो । अभिनय गर्ने जाँगर मरेर आयो । ड्रेस बुझाइसकेकाले मनै मारेर भए पनि अभिनयका लागि तयारी गरँे ।
पहिलो दिनको सुटिङ बालाजुमा थियो । नीर शाह, कर्मा र मेरो अभिनय सँगै थियो । कर्मा मेरो जुनियर भएकाले कर्मासँग केही धक भएन । तर, नीर शाहसँग अभिनय गर्न अलिअलि डर लागिरहेको थियो । रंगमञ्चीय कामको धेरै अनुभव मैले पनि लिइसकेकाले केही धक नमानी अभिनयको टेक दिएँ । टेक दिने बेला मैले अन्य केही देखिनँ । यो चलचित्रमा जस्तो भए पनि अभिनय गर्नुपर्छ, मात्र यति सोचेँ । अभिनयको पहिलो सट कहिले लाइटम्यान त कहिले ट्रलिब्वाइले गर्दा तीन–चार टेक लाग्यो । चित्त नबुझे पनि अभिनयको अवसरका रूपमा मन मारेरै भए पनि ५–६ दिनको छायांकन गरेर भूमिका सकाएँ । मैले गर्नुपर्ने हवल्दारको छोटो भूमिका थियो । तर, भूमिका छोटै भए पनि राम्रो गरेर सबैको नजरमा पर्न म सफल भएँ ।
पिंक कलरको टिसर्ट र पहेलो पाइन्ट लगाएको थिएँ होला । त्यो पोसाक मसँग अझै छ । पहिलोपटक चलचित्र अभिनय गरे पनि अन्य कलाकारले जस्तो हल्ला–खल्ला गरिनँ किनभने चलचित्रमा मेरो भूमिका छोटो थियो र अभिनय आफैँलाई चित्त बुझेकै थिएन । सुटिङकै क्रममा निर्देशक आलोक नेवाङलाई म थिएटरको राम्रो कलाकार भनेर कसले सुनाइदिएछ कुन्नि, चलचित्रपछि म्युजिक भिडियो गराउनुभयो, गायक कर्णदासको । यो भिडियो सञ्चारमाध्यममा यति बज्यो कि यसले मलाई सबैमाझ परिचित बनाइदियो ।
सानो संसार रिलिज भयो । कुमार भट्टराई भन्ने दाइले निर्देशक आलोकलाई अभिनयमा मेरो प्रयोग गर्न नसकेको भनेर भन्नुभएछ । त्यसपछि आलोक दाइले सानो संसार रिलिज भएको एक महिना नबित्दै ‘कोही मेरो’ चलचित्रको मेजर रोलका लागि अफर गर्नुभयो । अभिनयका लागि मैले एक हप्तामै आफ्नो सात केजी वजन घटाएँ ।
पहिलो दिनको सुटिङ आर्यनसँग थियो । आर्यन त्यतिबेला चलेका कलाकार भएकाले निर्देशकले मलाई ‘आर्यनले विभिन्न नखरा देखाउलान्, त्यसको वास्ता नगर्नु । तिमी आफ्नै तबरले अभिनय गर्नु’ भन्नुभएको थियो । तर, पहिलो दिनकै सुटिङमा आर्यन भनेको भन्दा फरक पाएँ । काम गर्न सजिलो भयो । ख्याल–ख्यालैमा त्यो चलचित्रको अभिनय पनि सकाएँ ।
चलचित्र प्रदर्शनमा आयो । मैले यसमा सोझो केटाको भूमिकामा अभिनय गरेको थिएँ । सबैले मेरो अभिनयको प्रशंसा गरे । त्यसपछि मैले ब्रेक फेल, फेसबुकलगायत धेरै चलचित्रमा अभिनय गरेँ । एक दुई गर्दै आजसम्म मैले अभिनय गरेका दर्जन चलचित्र पुग्न लागेका छन् । यतिखेर म त्यो ‘सानो संसार’ र त्यसमा गरेको रोल धेरै सम्झन्छु । मन नलाई–नलाई गरेको त्यो चलचित्रकै अभिनयले आज म यहाँसम्म आइपुग्न सफल भएको हँु । अहिले जति चलचित्र पाएको छु, मलाई लाग्छ– ती सब ‘सानो संसार’कै कारणले हो ।
प्रस्तुति : कुबेर गिरी

प्रतिक्रिया